खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए को सहयोगमा आयोजित दुई स्तरीय फूटबल लीगमा बिहीवार २ वटा म्याच खेलियो। गोथल्स मेमोरियल स्कूल खेल मैदानमा आज भएको प्रीमियर डीविजनको म्याचमा खरसाङ लीजेण्ड्स भेटरन्सले आईटीआई टुंग फूटबल एकाडमी विरुद्ध ४-२ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट चिराग थापाले ह्याट्रिक गरे। अन्य एक गोल छितेन तामाङले गरे। यसरी आईटीआई टुंग फूटबल एकाडमीको तर्फबाट छेवांग लामा र रेगन थापाले गोल गरे। दोस्रो म्याच (च्याम्पियनशीप डीविजन) मा खरसाङ स्पोर्टिंग क्लब (मण्टिभियट) ले तीनधारे बोयज विरुद्ध ६-१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट तुषान्तले ह्याट्रिक गरे। यसबाहेक सदन, अल्केश र दिवसले १-१ गोल गरे। तीनधारे बोयजको तर्फबाट आकाश ले १-१ गोल गरे। यस जीतको साथ खरसाङ स्पोर्टिंग क्लब पूल ए बाट ९ पोइण्ट्सको साथ शीर्षमा रहेर फाइनलमा पुग्यो। अब २० जुलाई (आइतवार) मा खेलिने फाइनलमा खरसाङ स्पोर्टिंग क्लबको भिड़न्त मकैबारी युनाइटेड एफसी-सँग हुनेछ।

यसरी प्रीमियर डीविजनमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) र कञ्चनजंघा फूटबल क्लबसँग अहिले बराबर पोइण्ट्स रहेको छ। यसरी शुक्रवार यी दुई टीमबीच खेलिने म्याचको विजेता नै प्रीमियर डीविजन च्याम्पियन बन्नेछ। आज दुईवटा म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका सदस्यहरूले गरे, जसमा नितेश देवान, प्रतीक गुरुङ, अरबिन्द छेत्री र रेबिका प्रधान सामेल थिए। सञ्जय थापा र दावा डोमा भूटिया फोर्थ अफिसियल थिए।