दार्जिलिङ: दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ गोक एक ग्राम पञ्चायतको लोवर गोकमा बुधबार साँझ माथिबाट ढुंगा झरेर किच्चाएर दुईजनाको दु:खद निधन भएको खबर प्रकाशमा आएको छ। घटनाअनुसार लोवर गोक जामुने नजिकैको जंगलमा खाने पानी बनाएर फर्किने क्रममा एकास्सी माथिबाट ढुंगा खसेपछि उक्त दु:खद घटना घटेको बताइएको छ भने ढुंगाले चेप्टिएर लगभग २९ वर्षीय छोरा प्रनिल जोगीको घटनास्थलमै ज्यान गएको तथा ढुंगाले लागेर गम्भीर रूपमा घाइते बनेकी स्थानीय बुद्दीराज सुब्बाको लगभग छ वर्षीय छोरी सामान्त सुब्बाको अस्पताल लैजाने क्रममा निधन भएको परिवार सूत्रले जनाएको छ। प्रनिल जोगी खरसाङको सिंगेल चियाबारी अन्तर्गत कोठीधुरा निवासी रहेको तथा पेशाले जेसीबीको ड्राइभर रहेको थाहा लागेको छ भने प्रनिल सामान्तको फुपूको छोरा रहेको समेत बताइएको छ। यसका साथै प्रशासनले स्थलगत भ्रमण गर्दै आवश्यक कार्वाही शुरु गरेको तथा मृतदेहलाई पोस्टमार्टमको निम्ति दार्जिलिङ जिल्ला अस्पताल पठाईएको प्रशासनले बताइएको छ। आज दार्जिलिङ जिल्ला अस्पतालमा पोष्टमार्टम गरेर मृत देहलाई खरसाङको सिंगेल चियाबारी अन्तर्गत कोठीधुरास्थित घरमा ल्याइने स्थानीयहरुले जानकारी गराएका छन्।