सोरेङ: सोरेङमा आयोजित जिल्लास्तरको दुई दिवसीय फर्स्ट सिक्किम राज्यस्तरीय अन्तरविद्यालय ब्याटमिन्टन टुर्नामेन्टको आज समापन भएको छ। ब्याटमिन्टन एसोसिएसन अफ् सिक्किम (बीएएस)-को तत्वावधान र सोरेङ ब्याटमिन्टन एसोसिएसन (एसबीए)-को सहकार्यमा मंगलबारदेखि सोरेङस्थित जौटार इन्डोर स्टेडियममा उक्त टुर्नामेन्ट आयोजना गरिएको हो। यहाँ सम्पन्न फर्स्ट राज्यस्तरीय इन्टर स्कूल ब्याटमिन्टन टुर्नामेन्टमा सोरेङ जिल्लाका सरकारी र निजी स्कूल गरेर कुल २१ स्कूलका १९० जना खेलाडीहरुले अंशग्रहण गरेका थिए। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ स्वयं ब्याटमिन्टन एसोसिएसन अफ् सिक्किमका प्रमुख संरक्षक रहेको अनि मुख्यमन्त्री कै मार्गदर्शनमा 6 वटै जिल्लामा सम्पन्न भइरहेको फर्स्ट राज्यस्तरीय इन्टर स्कूल ब्याटमिन्टन टुर्नामेन्टअन्तर्गत सोरेङ जिल्लास्तरीय प्रतियोगिताको समापन कार्यक्रममा ब्याटमिन्टन एसोसिएसन अफ् सिक्किमका अध्यक्ष तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
साथमा जिल्लापाल धीरज सुवेदी, ब्याटमिन्टन एसोसिएसन अफ् सिक्किमका संयुक्त कोषाध्यक्ष सोनाम भोटिया, विभागीय अधिकारीगण, सोरेङ ब्याटमिन्टन एसोसिएसनका मुख्य समन्वयक लोब्जाङ तामाङ, एसबीए अध्यक्ष एबी गुरुङ, एसबीए सल्लाहकार दिनेश पेगासहित एसबीएका सम्पूर्ण पदाधिकारी र सदस्यगण, स्थानीय पञ्चायतगण, सोरेङ जिल्लाका मुख्य शिक्षा अधिकारी एलडी शर्मा, खेलकुद एवं युवा मामिला विभागकी उप निरदेशक ममिता गुरुङ, सीएलसी अध्यक्ष भानु सुब्बा, सोरेङ-च्याखुङ समष्टिका युवा संयोजक दावा तामाङ, संघ-संस्थाका प्रतिनिधि, दर्शकगण र विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको थियो।
अलगअलग स्पर्धा अन्तर्गत जिल्ला स्तरमा विजयी बनेका खेलाडीहरुले फर्स्ट सिक्किम राज्यस्तरीय अन्तर विद्यालय ब्याटमिन्टन टुर्नामेन्टमा अवसर प्राप्त गरेका छन्। एसोसिएसनका अध्यक्ष खालिङ सोरेङमा उपस्थित भएर ब्याटमिन्टन खेलाडीहरुलाई प्रोत्साहित गर्न अघि नाम्ची र गेजिङ जिल्लामा आयोजित टुर्नामेन्टमा सहभागी बनेर खेलाडीहरुलाई अभिप्रेरित गरे। मुख्य अतिथि खालिङ र विशिष्ट अतिथिहरुले फाइनलसम्मको यात्रा तय गर्न सफल खेलाडीहरुलाई ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरे। अर्कोतिर उत्कृष्ट ढङ्गमा सफलतापूर्वक दुई दिवसीय टुर्नामेन्ट आयोजना गरेकोमा बासका अध्यक्ष खालिङले सोरेङ ब्याटमिन्टन एसोसिएसनप्रति कृतज्ञता प्रकट गरे। टुर्नामेन्टअन्तर्गत जिल्ला स्तरीय पहिलो चरणको खेलहरु समाप्ति भएको छ भने राज्य स्तरीय फाइनल चरणको खेलहरु अब गान्तोकमा सम्पन्न हुनेछन्।