गान्तोक: नाम्चीमा आजदेखि शुरू भएको राकेँ मेलालाई थप आकर्षक साथै भव्यरूपमा सम्पन्न गराउने उद्देश्यले आयोजित मोटो परेड बाइक ऱ्यालीलाई मुख्यमन्त्री प्रेमसिंह तामाङले झण्डा हल्लाएर प्रस्थान गराए। राजधानीस्थित रिज पार्कबाट मुख्यमन्त्रीले झण्डा हल्लाएर प्रस्थान गराएका हुन्। बाइकर्सहरूमा महिला साथै पुरूषवर्गको सहभागिता रहेको छ। यस ऱ्यालीमा राज्यभऱिका मोटर साइकल क्लबका प्रतिनिधिहरू साथै नेपाल, असम लगायत अन्य राज्यहरूबाट आएका बाइकर्सहरुले पनि सहभागिता जनाएका थिए। मुख्यमन्त्री तामाङले सहभागीहरूलाई सुरक्षित राइडको शुभकामना दिए। राज्यमा बाइकर्सहरूको संख्यामा वृद्धि भएको देखेर उनले खुशी प्रकट गरेका छन्। यस अवसरमा स्यारी निर्वाचन क्षेत्रका विधायक तेञ्जिङ लाम्ठा र नाम्ची सिङगीथाङका विधायक सतीशचन्द्र राईको पनि उपस्थिति रहेको थियो।