गान्तोक: राज्यका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको आठौं पूण्य तिथिको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले श्रद्धाजली व्यक्त गरेका छन्। यसबारे उनले राज्यको इतिहासमा पूर्व मुख्यमन्त्री भण्डारीलाई सबैभन्दा दुर्दर्शी र प्रभावशाली नेता बताए। मुख्यमन्त्री तामाङले आधुनिक सिक्किमका वास्तविक शिल्पकार स्वर्गीय भण्डारीले सिक्किम र सिक्किमेली जनताको सेवामा आफ्नो जीवन समर्पित गरेको शोक सन्देशमा उल्लेख गरेका छन्। मुख्यमन्त्रीको रूपमा उनको कार्यकालले राज्यको राजनीतिक, सामाजिक र शैक्षिक परिदृश्यमा परिवर्तनकारी युगको रूपमा इतिहास कोरेको बताए। नेपाली भाषाको प्रवर्द्धन, ग्रामीण जनसशक्तिकरण र लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरणमा उनको अथक प्रयासले पुस्तालाई प्रेरणा दिइरहेको बताउँदै सिक्किममा एक सच्चा जननेता, जसले सबै क्षेत्रका नागरिकहरूसँग गहिरो सम्बन्ध बनाएर अमेट छाप छोडेको मुख्यमन्त्री तामाङले बताए।