सिलगढी: उत्तर बंगालका चिया बगान श्रमिकहरूको अधिकार र सम्मानका पक्षमा सशक्त आवाज उठाउँदै हिमालयन एन्ड हिन्दुस्तानी टी एन्ड डेभलपमेन्ट को-अपरेटिभ स्टाफ सोसाइटीको एक प्रतिनिधिमण्डलले पश्चिम बंगाल सरकारको श्रम विभागका उप–श्रम आयुक्तलाई डागापुर, सिलगढीस्थित कार्यालयमा एक ज्ञापन पत्र बुझाएको छ।प्रतिनिधि मण्डलको नेतृत्व प्रमुख नेतृत्वगण क्रमैले डीके गुरुङ अध्यक्ष, केन्द्रीय समिति, राजेश लाकरा कार्यवाहक अध्यक्ष, डुवर्स क्षेत्र, डा. जोय प्रफुल महासचिव, डुवर्स क्षेत्र, र आयुष अधिकारी प्रतिनिधि, तराई–सिलिगुड़ी क्षेत्रले गरेका थिए। उनीहरूका साथमा वरिष्ठ पदाधिकारीहरू र सदस्यहरू पनि थिए। ज्ञापन पत्रमा पहाड, तराई र डुवर्स क्षेत्रका हजारौं चिया श्रमिकहरूलाई प्रभावित गर्ने दीर्घकालीन र अत्यन्तै जरुरी मागहरू प्रस्तुत गरिएका थिए, जसमा समावेश छन् जसमा सबै चिया बगान श्रमिकहरूका लागि संविधानसम्मत न्यूनतम ज्यालाको तत्काल कार्यान्वयन बढ्दो महँगीको बीचमा कुनै संरचित तलब वृद्धिबाट वञ्चित स्टाफ तथा सब-स्टाफको तलब पुनरावलोकन गर्ने मांग, २०२३–२४ को बाँकी ४% पूजा बोनस तत्काल छुट्याउने मांग रहेको छ। त्यसरी नै २०२४–२५ को पूजा बोनसको प्रारम्भिक वार्ता तथा समयमै वितरण सुनिश्चित गर्ने मांग गरिएको छ।
श्रम मन्त्रीको आश्वासन अनुसार अन्तरिम तलब तथा पारिश्रमिक वृद्धिको सिफारिसका लागि राज्य उत्पादकता परिषदको तत्काल नियुक्ति रहेको छ।
एचएचटीडीसीएसएसले श्रम विभागलाई गम्भीरता र जवाफदेहिताका साथ तुरुन्त कार्य गर्न आग्रह गरेको छ र उत्तर बंगालका चिया श्रमिकहरूले भोगिरहेको आर्थिक संकट र स्थायित्वविहीन अवस्थालाई उजागर गरेको छ।
“यो केवल ज्यालाको कुरा होइन, यो उत्तरबंगालको अर्थतन्त्रको मेरुदण्ड समान चिया श्रमिकहरूको सम्मान र न्यायको कुरा हो,” प्रतिनिधिमण्डलले भने।

चिया बगानका श्रमिकहरू न्यून पारिश्रमिकमा जीवन यापन गर्न र विभिन्न सुविधाबाट वञ्चित रहन बाध्य भइरहँदा, एचएचटीडीसीएसएसले नीति निर्माण र सरकारी जवाफदेहिताको मागलाई झनै तीव्र बनाउँदै लगेको पनि बताएको छ।