मङ्पु: मंगल सेवा फाउण्डेशन, मङ्पूद्वारा प्रत्येक दुई वर्षको अन्तरालमा प्रदान गरिने ‘मंगल सारथी सेवा सम्मान’ यस वर्ष सुनिल राई ‘प्रणामी’ लाई प्रदान गर्ने घोषणा गरिएको छ।
विगत दिनमा फाउण्डेशनको अध्यक्ष गणेश मिश्रको अध्यक्षतामा बसेको सभाले उक्त निर्णय लिएको हो। बड़ा पुबोङ बस्ती, तकदाह निवासी सुनिल राई, सेन्ट रोबर्टस् उच्चतर माध्यमिक विद्यालय, दार्जीलिङका भाषा विभागका एक समर्पित शिक्षक हुन्। विभिन्न सामाजिक, धार्मिक एवं साहित्यिक संस्थाहरूमा उनकाे संलग्नता रहेको छ भने विभिन्न पत्र – पत्रिकाहरूको सम्पादनमा उनको योगदान रहेको छ। सुनिल राई एक कुशल कवि, गीतकार, इतिहासकार, नाटककार हुन्। उनको दर्जनौं साहित्यिक कृतिहरू प्रकाशित छन्। यसको अतिरिक्त, धार्मिक, साहित्यिक लेखनमा पनि उनको उत्तिकै कलम चलेको छ। परम आदरणीय गुरुजी श्री १०८ मंगलदासजी एवं श्री १०८ मोहन प्रियाचार्यजीमाथि अनुसन्धनात्मक जीवन – यात्रा सम्बन्धि कृति प्रकाशित भइसकेको छ भने फर्केर हेर मङपुमा प्रणामी धर्म – हरिलाल क्षेत्रीसँग सह – लेखन अनि अहिले वर्तमानमा केही तथ्य कहीँ सन्दर्भ : श्री कृष्ण प्रणामी धर्म – अहिले प्रकाशन हुन लागिरहेको छ। धार्मिक साहित्यमा उनको निरन्तर सेवालाई सम्मान गर्दै उनलाई यसवर्ष पाँचौ “मंगल सारथी सेवा सम्मान” – प्रदान गरिएको हो भन्ने जानकारी फाउन्डेसनका मूल सचिव सुरेश सुब्बाबाट प्राप्त भएको छ। सुनिल राई ‘प्रणामी’ – लाई यो सम्मान आगामी १६ अगस्त २०२५ को दिन श्रीकृष्ण प्रणामी गीता मन्दिर, रेशेप, मङपुमा सम्पन्न हुने श्रीकृष्ण प्राकट्य महोत्सव – को उपलक्ष्यमा प्रदान गरिने भएको जानकारी प्राप्त भएको छ।