खरसाङ: शिव कुमार राई प्रतिष्ठान खरसाङको आयोजनामा आज यहाँको पार्क लोकेशन सार्वजनिक भवनमा सयौं साहित्यिक प्रकरण समारोह अन्तर्गत स्मरणभित्र शिवकुमार राई पुस्तक लोकार्पण तथा कवि गोष्ठी अनि अभिनन्दन समारोह सम्पन्न भयो। निमा लामाको अध्यक्षतामा सम्पन्न समारोहको मुख्य अतिथि डा नरेशचन्द्र खाती थिए भने विशिष्ट अतिथिहरूमा उर्मिला घिसिङ, कमल भण्डारी थिए। देविका मंग्राती राई अनि मिना लामा राईद्वारा संचालित कार्यक्रमको आरम्भ माता सरस्वतीको तस्वीरमा धूप-दीप प्रज्ज्वलन गरेर गरियो। समारोहमा वरिष्ट साहित्यकार स्व असित राईकी पत्नी शान्ति राईलाई अभिनन्दन पत्र प्रदान गरी अंग वस्त्र अनि खदा लगाएर सम्मान जनाइयो। कार्यक्रममा असित राई अनि शान्ति राईको जीवनी देविका मंग्रातीले पठन गरिन् भने अभिनन्दन पत्र तारा छेत्रीले पठन गरिन्। यसै अवसरमा स्मरणभित्र शिवकुमार राई पुस्तकको लोकार्पण पनि गरियो। समारोहमा कविहरूले कविता,गजल लेख आदि वाचन गरेका थिए।









