नेपाल र भारतका कवि साहित्यकारहरूलाई लिएरदार्जिलिङमा समावेशी साहित्य सम्मिलन २०२२ सम्पन्न

IMG-20220918-WA0170.jpg

दार्जिलिङ: दार्जिलिङको गोर्खा दु:ख निवारक सम्मेलन भवनमा समावेशी साहित्य सम्मिलन २०२२ सम्पन्न भएको छ। उक्त कार्यक्रम कथाकार, पत्रकार एंव समावेशी समूहका वरिष्ठ स्रष्टा प्रकाश हाङखिमको अध्यक्षता र टि. आर. शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। सञ्जीव छेत्री र सपन प्रधानले सञ्चालन गरेको कार्यक्रममा स्वागत गीत एंव सरस्वती बन्दना गायक अनिल फागोले प्रस्तुत गरेका थिए।

कार्यक्रममा स्वागत नृत्यको रूपमा नक्सलबारी उच्चत्तर माध्यमिक विद्यालयको विद्यार्थीहरूले लोक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा स्वागत सम्भाषण समावेशी साहित्य सम्मिलन कार्यक्रमको संयोजक डा. बासु थापा पुलामीले राख्दै कार्यक्रमको उद्देश्य र औचित्य विषयमा बताएका छन्। उनले समावेशी अवधारणाको लेखन, पृष्ठभूमि, यसको स्थापना र यसको विभिन्न कार्यक्रमहरू विषयमा बताएका छन्। कार्यक्रमको प्रमुख अतिथि टी. एन. शर्माले आफ्नो सम्बोधनमा आज दार्जिलिङमा विभिन्न स्थानहरूबाट सर्जकहरू उपस्थित भईदिएकोमा खुशी व्यक्त गर्दै कार्यक्रम सफलताको कामना गरे।

यसै कार्यक्रमको पहिलो सत्रमा कविहरू क्रमैले उदय थुलुङ, अबीर खालिङ, शरण मुस्कान, हनोक थापा, श्रवणकुमार प्रधान आदिले कविताहरू वाचन गरेका थिए। यसै सत्रमा ‘समकालीन सन्दर्भ र समावेशी कविता’ विषयमा विमर्श कार्यक्रम सम्पन्न भएको छ। उक्त विमर्शमा नेपालका कविद्वय सुन्दर कुरुप र प्रकाश थाम्सुहाङ अनि समावेशी अवधारणाको स्रष्टाद्वय कवि ज्ञानेन्द्र यक्सो र कथाकार सुरज धुडकनले सहभागिता जनाएका थिए भने उक्त विमर्शमा सहजकर्ताको रूपमा निरज थापा उपस्थित रहेका थिए। कार्यक्रमको दोस्रो सत्रमा कविहरू क्रमैले भुपेन्द्र सुब्बा, ज्ञानेन्द्र यक्सो, निर्मल तामाङ, विनोद रसाइली, कर्ण विरह आदिले कविताहरू पठन गरेका थिए। यसै सत्रमा ‘आख्यान र अाख्यानकार’ अन्तर्गत आख्यानबारे चर्चा कार्यक्रम सम्पन्न गरिएको थियो। यस चर्चामा सञ्जय विष्ट, छुदेन काविमो, उदय थुलुङ र मुनराज सापकोटाले सहभागिता जनाएका थिए भने यस चर्चामा प्राध्यापक बलराम सापकोटा सहजकर्ताको रूपमा उपस्थित रहेका थिए।

समावेशी साहित्य सम्मिलन कार्यक्रमको तेस्रो सत्रमा नेपालबाट आएका कविहरू क्रमैले चन्द्र गुरुङ, मुनराज सेरमा, सुन्दर कुरुप, प्रकाश थाम्सुहाङ, सुदीप पाख्रीन, विवस बलिभद्र कोइराला आदिले कविताहरू वाचन गरेका थिए। यसको साथै कार्यक्रममा गायकहरू अनिल फागो अनि सौरभ मधुर राईले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए। समावेशी साहित्य सम्मिलन कार्यक्रमको अन्तिम सत्रमा नेपाली नाटक र सिनेमा विषयमा विषयमा विमर्श गरिएको थियो जसमा शान्तिला तामाङ, आदित्य राया र चन्तल थापाले सहभागिता जनाएका थिए भने सहजकर्ताको रूपमा प्राध्यापक कुशल घिमिरे उपस्थित थिए।

कार्यक्रममा साउथफिल्ड कलेजका विद्यार्थीहरूले लोक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन डा योगेस पन्तले राखेका थिए। कार्यक्रम विषयमा समावेशी साहित्य सम्मिलन कार्यक्रमको संयोजक डा. बासु थापा पुलामीले पत्रकारहरूसित कुराकानी गर्दै समावेशी अवधारणाको लेखन र सन् २०१४ देखि स्थापना भएर समावेशी साहित्य समूहले विभिन्न स्थानहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरिसकेको र विभिन्न कार्यक्रमहरूमा नारी, पुरूष सबैलाई लिएर कार्यक्रम गरिसकेको जानकारी गराएका छन्। उनले यसपालीको कार्यक्रम पहिलेबाटै तय भईसकेको बताउँदै यसमा हामीले पुरूषहरू मात्रै सामेल गराए भन्ने जुन आरोप सामाजिक सञ्जालतिर आएको त्यो हाम्रो सोच होइन अनि हामीले जानीबुझी यस्तो गर्न चाहेको होइन भनी बताएका छन्। थापाले आगामी दिनमा नारी स्रष्टाहरूलाई पनि लिएर कार्यक्रमहरू आयोजना गर्ने बताउँदै समावेशी अवधारणाको लेखन र यसको विशेषताहरू विषयमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement