विश्व युवा कौशल दिवस पालन

Screenshot_20250716_000509_Chrome

गान्तोक: आज चिन्तन भवनमा विश्व युवा कौशल दिवस पालन गरियो। यस राज्यस्तरीय समारोहमा मुख्यमन्त्री तथा कौशल विकास विभागका प्रभारी मन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए।
‘एआई र डिजिटल कौशलको माध्यमद्वारा युवा सशक्तिकरण’ थीम रहेको यस कार्यक्रमको शुरुवात मुख्यमन्त्रीद्वारा ‘कौशल वाहन’ को शुभारम्भपछि भयो। यो राज्यका दुर्गम क्षेत्रहरूमा तालिम पहुँच र जागरूकता विस्तार गर्न डिजाइन गरिएको मोबाइल सीपमूलक पहल रहेको बताइएको छ। यस क्रममा मुख्यमन्त्रीले कौशल एवं उत्पाद प्रदर्शनीको पनि उद्घाटन गरे।
मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा सुनौलो, समृद्ध र समर्थ सिक्किमको निर्माणमा कौशल विकासको महत्वपूर्ण भूमिकामाथि जोड दिए। उनले लक्षित, समग्र र भविष्यमुखी प्रशिक्षणको माध्यमद्वारा सक्षम अनि कौशल नागरिक तयार गर्ने सरकारको दर्शनबारे जानकारी गराए।
आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्रीले दुईवटा महत्वपूर्ण घोषणा गरे, जसमा सरकारी विभागहरूमा सबै प्राविधिक पदहरूका लागि अनिवार्य आईटीआई प्रमाणीकरण र सबै पोलिटेक्निक कलेजहरूमा आईटीआई स्नातकहरूलाई ५-१० प्रतिशत आरक्षण सामेल छन्। उनले यी प्रगतिशील उपायहरूले व्यावसायिक शिक्षाको स्तरलाई उकास्ने र करियरमा उन्नतिको लागि बहुमार्गहरू सिर्जना गर्नेछ भने।
चौथो औद्योगिक क्रान्तिको लागि तयारीको महत्वमाथि बोल्दै मुख्यमन्त्रीले शिक्षक, नागरिक समाज र उद्योग जगतका नेतृत्वहरूलाई कौशल विकास ढॉंचामा एआई र डिजिटल साक्षरतालाई एकीकृत गर्न आह्वान गरे। उनले युवाहरूलाई उद्यमशीलतालाई व्यवहार्य र सम्मानजनक करियर विकल्पको रूपमा अँगाल्न प्रोत्साहित गरे।
यसरी नै परिवहन एवं कौशल विकास विभागका सल्लाहकार मदन सिन्चुरीले आईटीआई प्रशिक्षकहरूलाई कौशल इकोसिस्टमको मेरुदण्ड बताउॅंदै विभागले हरेक वर्ष १,००० कौशलयुक्त युवाहरू तयार गरिरहेको जानकारी गराए। उनले युवाहरूलाई आत्मनिर्भरताको लागि प्रयास गर्न र ग्रामीण निर्वाचन क्षेत्रहरूमा योजनासँग सम्बन्धित जानकारी फैलाउन विधायकहरूसँग गहिरो संलग्नताका लागि आह्वान गरे।
कार्यक्रममा आईटीआई रम्फूलाई उत्कृष्ट प्रदर्शन गर्ने आईटीआई, एसआईसीबीसॅंग एक दशकभन्दा लामो साझेदारीको मान्यतामा रिम्सलाई निरन्तर राम्रो प्रदर्शन गर्ने प्रशिक्षण पार्टनर, हिमाली विकास संस्थानलाई उत्कृष्ट प्रशिक्षण पार्टनर र कम्पास इण्डिया फूड सर्विसेस् बेङलुरुलाई उत्कृष्ट प्रदर्शन गर्ने रोजगारदाताको रूपमा पुरस्कृत गरियो।
यसरी नै मनिषा तामाङ, दीपेश छेत्री, बिशाल तामाङ र अनिश गुरुङलाई उत्कृष्ट अलराउन्डर आईटीआई प्रशिक्षार्थीहरूको रूपमा सम्मानित गरियो। कार्यक्रममा कौशल प्राप्त ९ जनालाई सम्मानित गरिएको थियो भने उनीहरूले कौशल प्रशिक्षणको माध्यमद्वारा परिवर्तनको आफ्नो प्रेरणादायक यात्रा साझा गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement