खरसाङका सर्जक निरङ्कर थापालाई नयाँ दिल्लीबाट ‘राष्ट्रीय पुरस्कार २०२५’ अन्तर्गत ‘नेपाली साहित्य पुरस्कार-गद्य’ मा प्रदान गरिने

IMG-20250715-WA0124

खरसाङ: खरसाङका सर्जक कथाकार निरङ्कर थापालाई नयाँ दिल्लीबाट ‘राष्ट्रीय पुरस्कार २०२५’ अन्तर्गत ‘नेपाली साहित्य पुरस्कार-गद्य’ मा प्रदान गरिने भएको छ। हाम्रो स्वाभिमान ट्रस्ट, नयाँ दिल्लीद्वारा प्रदान गरिने ‘राष्ट्रीय पुरस्कार २०२५ अन्तर्गत ‘नेपाली साहित्य पुरस्कार-गद्य’-का निम्ति खरसाङका लेखक निरङ्कर थापा चयनित भएको समाचार सार्वजनिक भएपछि खरसाङका संघ-संस्था एवम् साहित्यिक समूहले हर्ष व्यक्त गरेका छन्। यस विषयमा गोर्खा जनपुस्तकालय खरसाङको मूलसचिव विनोद रसाइलीद्वारा प्रेषित एक विज्ञप्तिमार्फत धरोहर संस्था गोर्खा जन पुस्तकालयले लेखक थापालाई बधाई अनि शुभकामना जनाएको छ। विज्ञप्तिमा उल्लेख गरिएअनुसार, निरङ्कर थापा प्रचारप्रसारदेखि एकदमै अलग बसेर साहित्य सृजनामा निरन्तर लागिपर्ने एक विशिष्ट सर्जक हुन्। थापाको सिर्जनधर्मिता र सिर्जनसीपलाई उनका साहित्यिक कृतिहरूले एक अलग उचाइमा पुऱ्याएको कुरो कुनै पनि इमानदार अध्येताले अनुमान लगाउन सक्छन्। हाम्रो स्वाभिमान ट्रस्ट, नयाँ दिल्ली- द्वारा नेपाली साहित्य गद्य विधाको निम्ति प्रदान गरिने राष्ट्रिय पुरस्कार २०२५ -द्वारा सर्जक निरङ्कर थापा सम्मानित हुने खबर आएपछि गोर्खा जन पुस्तकालय, खरसाङले आफ्नो कर्मठ, लगनशील र सक्रिय सदस्यको यस सम्मानलाई खरसाङकै एक विशेष सम्मानको रूपमा बोध गर्दै सहर्ष शुभेच्छा एवम् अभिनन्दन प्रकट गरेको छ। यसअतिरिक्त खरसाङको ज्ञानकुञ्ज बुक्स प्रकाशनको पक्षबाट पनि यस उपलब्धिका निम्ति थापालाई बधाई एवम् शुभकामना प्रकट गरिएको छ।
ज्ञातव्य, साहित्यकार निरङ्कर थापा तीन दशकभन्दा लामो समयदेखि भारतीय नेपाली साहित्यमा विशेष आख्यान विधामा कलम चलाउँदै आएका छन्। साहित्यमा उनको दरिलो उपस्थितिका प्रमाणस्वरूप ‘पछि पर्खिएर हेर्दा’, ‘मोह रङ’, ‘एक छिमल जीवन’, ‘झरेको फूल’ आदि चार कथा सङ्ग्रहलगायत भर्खरै उनको पहिलो उपन्यास ‘मार्साङ’ प्रकाशित छन्। निरङ्कर थापाले निरन्तर रुपमा गद्य विधामा चुपचाप कलम चलाउँदै आईरहेका छन्। उनले गद्य विधामा पाउने यो पुरस्कारले खरसाङ क्षेत्रलाई गौरवान्वित तुल्याएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement