खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा आयोजित दुई स्तरीय फूटबल लीगमा मंगलवार २ वटा म्याच खेलियो। गोथल्स मेमोरियल स्कूल खेल मैदानमा आज भएको प्रीमियर डीविजनको म्याचमा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले जेआर३२ फूटबल एकाडमीविरुद्ध ९–० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट निवांग तामाङ र प्रज्वल राईले २–२ गोल गरे। यसबाहेक अभिषेक ठाकुरी, अमन गुरुङ, सेण्डुप शेर्पा, राम राई र सोयेल दर्जीले १–१ गोल गरे। दोस्रो म्याच (च्याम्पियनशीप डीविजन)-मा यूकेएफसी अण्डर–१७ टीमले त्रिशुली संघविरुद्ध ६–३ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट समिल थापा, ए. तामाङ, वांगचू तामाङ, अभिकृत छेत्री, जेवियर र पुष्करले १–१ गोल गरे। त्रिशुली संघको तर्फबाट दीपम थापा, अयुष थामी र निम छिरिंग तामाङले १–१ गोल गरे।

आज दुईवटा म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका सदस्यहरूले गरे, जसमा नितेश देवान, सुरेश गुरुङ, केवान राई र प्रशान्त राई सामेल थिए। सञ्जय थापा फोर्थ अफिसियल थिए।










