वाशिंगटन: एमआई न्यूयोर्कले वाशिंगटन फ्रीडमलाई रोमाञ्चक फाइनलमा ५ रनले पराजित गरी मेजर लीग क्रिकेट (एमएलसी) २०२५-को खिताब जित्यो। डलासको ग्राण्ड प्रेयरी स्टेडियममा सोमवार खेलिएको फाइनलमा एमआई न्यूयोर्कले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनायो। ओपनर क्विण्टन डी ककले सर्वाधिक ७७ रन बनाए। उनले ४६ बल खेलेर ६ वटा चौका र ४ वटा छक्का लगाए। यसबाहेक मोनाक पटेलले २८, कुवंरजीत सिंहले २२ र कप्तान निकोलस पूरनले २१ रनको योगदान दिए। वाशिंगटन फ्रीडम टीमका बलरहरूमा लौकी फर्ग्यूसनले सर्वाधिक ३ विकेट लिए। त्यसपछि वाशिंगटन फ्रीडमले म्याच जित्न १८१ रनको लक्ष्यलाई अघि राखेर ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो। वास्तवमा वाशिंगटन फ्रीडमसँग खिताब जित्ने सुनौलो मौका थियो कारण ग्लेन म्याक्सवेल र ग्लेन फिलिप्स अन्तिम ओभरसम्म क्रीजमा थिए तर २२ वर्षीय अमेरिकी बलर रशील उगारकरले दबाउमा बलिंग गर्दै अन्तिम ओभरमा १२ रन बचाएर आफ्नो टीम एमआई न्यूयोर्कलाई च्याम्पियन बनाए। वाशिंगटन फ्रीडमको शुरुवात असल रहेन अनि ट्रेण्ट बोल्टले पहिलो ओभरमै २ विकेट लिए। मिचेल ओवेन र एण्ड्रिएस गौसले खाता पनि खोलेनन्। त्यसपछि रचिन रविन्द्रले ४१ बलमा ७० रन बनाएर टीमलाई म्याचमा कायम राखे। उनले ८ वटा चौका र २ वटा छक्का लगाए। रचिनले ज्याक एडवर्ड्ससँग तेस्रो विकेटको निम्ति ८४ रनको पार्टनरशीप गरे। एडवर्ड्सले ३३ रन बनाए। रचिन र एड्वर्ड्स आउट भएपछि ग्लेन फिलिप्सले अविजित ४८ रनको साथ अन्तसम्म प्रयास गरे पनि आफ्नो टीमलाई च्याम्पियन बनाउन सकेनन्। फिलिप्सले ३४ बल खेलेर ५ वटा छक्का लगाए। म्याक्सवेल १५ रन बनाएर आउट भए। बोल्ट र उगारकरले २-२ विकेट लिए।