कालचिनी – अलिपुरद्वार जिल्ला पुलिसको आयोजनामा तथा कालचिनी थानाको व्यवस्थापनामा आज १० किलोमीटर रन म्याराथन सम्पन्न भयो| बिहान ६ बजी कालचिनी थाना मैदानबाट अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक वाई रघुवंशी लगायत विशिष्ट अतिथि प्रकास चीक बढ़ाईक, मृदुल गोस्वामी, र गंगा प्रसाद शर्मा लगायत अन्यान्य अतिथिहरुले हरियो पताका देखाएर महिला अनि पुरुष वर्गको म्याराथन सहभागीहरुलाई प्रस्थान गराएको थियो|
उक्त म्याराथन दौड़मा स्वयं अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक आईपीएस वाई रघुवंशी, अलिपुरद्वार एएसपी अम्लान घोष, र बक्सा ब्याघ्र प्रकल्प पश्चिमका डीएफडी आईएफएस प्रवीण कासवानले पनि सँगसँगै दौड़ाहा लगाएको थियो| कालचिनी थाना मैदानबाट हेमिल्टनगञ्ज नेताजी पल्ली हुँदै लोथाबारी निमती रोड भएर पुनः कालचिनी थाना मैदानसम्म १० किलोमीटरको म्याराथन दौड़मा पुरुष वर्गमा प्रथम स्थानको पुरस्कार आशिक खाखा कालचिनी थाना अन्तर्गत निमती दोमोहनीले हासिल गर्न सफल भएको थियो भने दोस्रो स्थानमा मदारीहाट थाना अन्तर्गत मुजनाईका निखिल उराउँ र तेस्रो स्थानमा बीरपाड़ा थाना अन्तर्गत दलमोर चियाबारीका मञ्जित लामाले पुरस्कार हासिल गरेको थियो| यसै क्रममा महिला वर्गमा प्रथम स्थान ओगट्न कालचिनी थाना अन्तर्गत गंगुटिया चियाबारीका शुक्ला मोदक दोस्रो स्थानमा निकिता कुजूर र तेस्रो स्थानमा सुशिला मुण्डाले पुरस्कार हासिल गरेको थियो|
म्याराथन दौड़मा महिला पुरुष दुवै वर्गको प्रथम, दोस्रो र तेस्रो स्थान सँगसँगै दुवै वर्गको १०-१० जना टप दशमा परेको धावकहरूलाई पनि मेडल, प्रमाणपत्र प्रदान उपस्थित मुख्य अनि विशिष्ट अतिथिहरूको बाहुलीबाट प्रदान गरिएको थियो| म्याराथन खेलको समापन पश्चात अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक वाई रघुवंशीले विशेषगरी युवा पीढ़ीलाई कुलतबाट टाढ़ा राख्न अनि शारीरिक एवम् मानसिक रूपमा स्वास्थ्य राख्नलाई मुख्यमन्त्रीको अनुप्रेरणा अनि युथ औ खेलकूद विभागको सहयोगितामा अलिपुरद्वार जिल्ला पुलिसले प्रथममा समुकतला थाना क्षेत्रमा र दोस्रो चरणमा कालचिनी थाना मैदानमा कालचिनी, जयगाउँ, मदारीहाट र बीरपाड़ा थाना मिलाई जम्मा ४ वटा थाना क्षेत्रको प्रायः ८५० भन्दा अधिक धावकहरूले म्याराथनमा अंशग्रहण गरेको र आगामी म्याराथन अलिपुरद्वार जिल्ला सहरमा आयोजना गरिने जनाएका छन्| सो म्याराथनमा आएका प्रमुख अतिथि तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बडाईकले अलिपुरद्वार जिल्ला पुलिसको आयोजनामा यो लगाई दोस्रो म्याराथन सम्पन्न भएको र यो सम्पूर्ण जिल्लावासीको निम्ति ठूलो उपलब्धि भएको जनाएका छन्|









