सेकेममा पादरी गङ्गाको १७४औं स्मरण दिवस समारोह सम्पन्न

IMG-20250714-WA0135

खरसाङ: आदि पत्रकार एवं ‘गोर्खे खबर कागत्’ को सम्पादक साथै नेपाली भाषामा बाईबल अनुवाद गर्ने पादरी गङ्गाको १७४औं स्मरण दिवस समारोह सम्पन्न भएको छ। यसपाली कालेबुङमा पादरी गङ्गाको चर्चा नभएर सन्नाटा छाइरहेको बेला, डा. ग्राहाम्स होम्सस्थित सेकेम सिलोआम चर्चमा स्थानीय पास्टर तथा यस कार्यक्रमको संयोजक रेभ.डा. छत्र सुब्बा पावलले प्रारम्भिक प्रार्थनासहित कार्यक्रम शुरू गरे। आदिकवि भानुभक्तको २११औं जन्मजयन्तीको अवसर पारेर संयोजक डा छत्रले सुब्बा पावलले नै भानुको कविता वाचन गरी उनलाई श्रद्धान्जली दिए। यस कार्यक्रमभरि पादरी गङ्गाले रचना गरेका ”प्रभु अर्जी सुनिलेऊ“ गीत गाइयो। स्वागतको निम्ति ”कति सुन्दर दिन आयो गङ्गा तिमीलाई सम्झिने“ (रचनाः डा. छत्र सुब्बा पावल अनि संगीतकारः राम तिमोथी विष्ट) गीत साइमन, पेमकित र रोमिलाले गाएर सुनाए। कार्यक्रमको शुरूतिरै पादरीले उल्था गरेका बाइबलको ‘गीत्’ अर्थात भजनसंग्रहको अध्याय एकबाट संयोजकले पढ़ेर सुनाए। यसबाहेक, पादरी गङ्गाले नै उल्था गरेका बाइबल खण्डहरूमध्ये श्रेयाले योना चार अध्यायबाट अनि रोमिला लेप्चाले प्रेरित २६ अध्यायबाट फररर पढ़ेर सुनाए। मण्डलीका आमादिदीबहिनीले ”उभैं त हेरूँ बैकुण्ठ धाम छ“ भन्ने गीत गाएका थिए। कार्यक्रममा सचिव अमिता लेप्चाले केही जानकारी दिइन्। त्यसपछि स्टेफी प्रधानले भाइलिनबाट ”यो जग कहिले छैन स्थिर, कहिले रूनु कहिले हाँस्नु, छैन सदा स्थिर“ नामक पादरीद्वारा रचित गीतको धुन सुनाइन्। पादरी स्मरणको यस कार्यक्रममा जेनु सुब्बा अनि गंगा तामाङको अगुवाईमा सण्डे स्कूलका नानीहरूको हातबाटद्वारा पादरीका योगदानहरू लेखिएका प्लेकार्डहरू एक एक गर्दै प्रदर्शन पनि गरियो जसको कारण नानीहरूले पनि महान गङ्गा बाजेको नाम सुनेर खुसी भए भने स्रोता तथा दर्शकहरूले पनि उनको योगदान छर्लङ्गै बुझ्नसके। यस कार्यक्रमको मूल वक्ता क्लुनी कलेजका प्रोफेसर साथै नेपाली साहित्य अध्ययन समितिका कार्यकारिणी सदस्य अनि यस मण्डलीका एल्डर मेहेरमान सुब्बा उपस्थित रहेका थिए।

पादरीको संघर्षमय जीवन अनि तिनताकको परिस्थितिअनुसार हुनुपर्ने सिर्जनात्मक क्रियाकलापहरूबारे राम्ररी बुझाएका थिए। संयोजकले आफूसँग भएका पादरीबारे विभिन्न संकलनहरू, गोर्खे खबर् कागत्, उखान संग्रह, साथै बालकथाका विभिन्न पुस्तकहरू पनि देखाउँदे कार्यक्रमलाई जिवन्त पारेका थिए। अन्त्यमा यस मण्डलीका साथै यस कार्यक्रमका अध्यक्ष वयोवृद्ध एल्डर सी.टी. लेप्चाज्यूको आशिर्वादद्वारा सभा बर्खास्त गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement