न्यूयोर्क: ईंग्लिश प्रीमियर लीग क्लब चेल्सीले फिफा क्लब वर्ल्ड कपको खिताब जित्यो। न्यूयोर्कको मेटलाइफ स्टेडियममा खेलिएको फाइनलमा चेल्सीले यूरोपियन च्याम्पियन पेरिस सेण्ट जर्मेन (पीएसजी)-लाई ३-०-ले पराजित गऱ्यो। यसरी चेल्सी प्रतिष्ठित क्लब वर्ल्ड कपको खिताब दुईपल्ट जित्ने प्रीमियर लीगको पहिलो क्लब बन्यो। चेल्सीले यसअघि २०२१-मा पनि खिताब जितेको थियो। प्रीमियर लीगबाट म्यानचेष्टर युनाइटेड (२००८), लिभरपूल (२०१९) र म्यानचेष्टर सिटी (२०२३)-ले १-१ पल्ट खिताब जितेको छ। यसपाली फाइनलमा ६७ प्रतिशत पोजेशनको साथ खेले पनि पीएसजी-ले मौकाको फाइदा उठाउन सकेन। यसबाहेक जोआओ नेवेसले ८५औं मिनटमा रेड कार्ड देख्दा पीएसजी १० जना खेलाड़ीमा सीमित भयो। चेल्सीका खेलाड़ी मार्क कुकुरेलालाई केशमा तानेर लड़ाउँदा नेवेसलाई रेड कार्ड देखाइयो। चेल्सीलाई च्याम्पियन बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै फरवर्ड कोल पाल्मरले २ गोल गरे।

मेटलाइफ स्टेडियममा ८१ हजारभन्दा अधिक दर्शकहरूको उपस्थितिबीच फाइनल चरम रोमाञ्चक रह्यो। चेल्सीले म्याचको तीनैवटा गोल पहिलो हाफको खेलमा दर्ता गऱ्यो। कोल पाल्मरले २२औं मिनटमा चेल्सीको निम्ति गोलको खाता खोले। त्यसपछि उनले ३०औं मिनटमा अझ एक गोल गरी बढ़तलाई दोब्बर पारे। अन्तमा जोआओ पेड्रोले ४३औं मिनटमा अझ एक गोल गरी पीएसजी-को चुनौतीलाई माटोमा मिलाए। यस हारको साथ पीएसजी-को सीजनमा चौथो खिताब जित्ने सपना पूरा हुन सकेन। पीएसजी-ले यस सीजनमा अगावै लीग वन्, फ्रेञ्च कप र यूएफा च्याम्पियन्स लीगको खिताब जितिसकेको छ। यसपाली क्लब वर्ल्ड कपको फाइनलमा पनि लुईस एनरिकेको टोली खिताब जित्ने प्रबल दावेदारको रूपमा ओर्लिएको थियो तर चेल्सीले उत्कृष्ट प्रदर्शन गर्दै समस्त समीकरण उल्टा गरिदियो। मेटलाइफ स्टेडियममा ८११८८ जना दर्शकहरू अघि खेल्दै ट्रफी जितेपछि म्याचको नायक पाल्मरले भने, यो अभूतपूर्व अनुभव रह्यो। धेरैलाई हाम्रो क्षमतामाथि सन्देह रहेको थियो तर हामीले आज उनीहरूका धारणालाई गलत साबित गऱ्यौं। एउटा सर्वश्रेष्ठ टीमलाई पराजित गर्न सर्वश्रेष्ठ प्रयासको आवश्यकता रहेको कुरा हामीलाई थाहा थियो।