गान्तोक: अध्यक्ष गणेश कुमार राईको प्रमुख आतिथ्यमा सिटिजन एक्शन पार्टी, सिक्किम (क्याप सिक्किम) को एउटा सभा आज दक्षिण सिक्किमको मल्ली निर्वाचन क्षेत्र अन्तर्गत लोवर पायोङमा सम्पन्न भयो। स्थानीय वरिष्ठ नागरिक श्रीमती दिल कुमारी राईको अध्यक्षतामा महिल्या कल्याण परिषद, मल्ली क्षेत्रद्वारा आयोजित सभामा पार्टीका विभिन्न तह र तप्काका नेता अनि कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष गणेश कुमार राईले आफू मल्ली डाँडा ग्राम पञ्चायतका अध्यक्ष छँदा उक्त ग्राम पञ्चायतलाई देशकै उदाहरणीय ग्राम पञ्चायतको रूपमा स्थापित गरेको स्मरण गरे। उनले सिटिजन एक्शन पार्टी–सिक्किमको सरकार बनेपछि सिक्किमलाई विकास, सुशासन र स्वाभिमानको नमुना राज्य बनाउने दावी पनि गरे।
राईले भने, “सिटिजन एक्शन पार्टी–सिक्किमसँग भरपर्दो नीति, सक्षम प्रशासन, सशक्त स्थानीय स्वशासन, उत्पादक अर्थनीति, कानूनको रक्षा तथा सदुपयोग र भ्रष्टाचारमुक्त राज्यको स्पष्ट खाका छ। यी सबै नीतिहरू हाम्रो सरकारले सत्ता सम्हालेपछि कार्यान्वयन गरिनेछ। हामी जनताको दु:ख हटाउनेछौं र सुशासनको नयाँ युगको सुरुवात गर्नेछौं।”
सभालाई यूभीसी अध्यक्ष गणेश क्षेत्री, महिला परिषद्की अध्यक्ष श्रीमती बिना शर्मा, क्षेत्र अध्यक्ष श्रीमती कमला राई, उपाध्यक्ष श्रीमती सुष्मा तामाङ लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए। आज २११औं जन्मजयन्ती पनि परेकोले सभामा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यलाई पनि सम्झना गरियो। अध्यक्ष राईले भानुभक्त आचार्यको नेपाली भाषा प्रतिको योगदानको उल्लेख गर्दै नेपाली भाषा, साहित्य र परम्पराको संरक्षण र उत्थानमा सबैले योगदान दिनुपर्ने कुरामा जोर दिए।
आजको कार्यक्रममा नै सोनाम भोटिया, कविता लिम्बू, रमेश विश्वकर्मा र दीपक प्रधानले सिटिजन एक्शन पार्टीको सदस्यता पनि ग्रहण गरे भने सभाअवधि लोवर पायोङ महिला परिषद्को गठन पनि गरियो। नवगठित लोवर पायोङ महिला परिषदमा अध्यक्ष अम्बिका सुब्बा, उपाध्यक्ष नितु प्रधान, सचिव कृष्ण शर्मा, कोषाध्यक्ष हेमा शर्मा अनि सदस्यहरू खुश्बु कुमारी प्रधान, शान्ता प्रधान रहेका छन्। यसरी नै अप्पर पायोङ महिला परिषदका अध्यक्ष प्रेमिका लकान्द्री र उपाध्यक्ष कमला विश्वकर्मालाई पनि आजकै सभाले मनोनित गरेको छ।