खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा आयोजित दुई स्तरीय फूटबल लीगमा आइतवार २ वटा म्याच खेलियो। गोथल्स मेमोरियल स्कूल खेल मैदानमा आज भएको प्रीमियर डीविजनको म्याचमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले आईटीआई टुंग फूटबल एकाडमीविरुद्ध ६-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट रुस्तम प्रधानले ह्याट्रिक गरे। यसबाहेक पंकज थापा, रोनित तामाङ र नयन प्रधानले १-१ गोल गरे। दोस्रो म्याच (च्याम्पियनशीप डीविजन)-मा खरसाङ स्पोर्टिंग क्लबले सेण्ट मेरीज एफसी विरुद्ध ५-२-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट आकाश रोकाले २ गोल गरे। यसबाहेक कुमार मंग्रान्ती, अल्केश तामाङ र अविष्कार तामाङले १-१ गोल गरे। सेण्ट मेरीज एफसीको तर्फबाट अमु शेर्पा र अनुभव सुब्बाले १-१ गोल गरे। आज दुईवटा म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका सदस्यहरूले गरे, जसमा नितेश देवान, अरबिन्द गुरुङ, रेबिका प्रधान र सलमा राई सामेल थिए। सञ्जय थापा फोर्थ अफिसियल थिए।