दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको तर्फबाट प्रदान गरिने विभिन्न पुरस्कारहरु आज भानु जयन्ती कार्यक्रमबीच प्रदान गरिएको छ। दार्जिलिङको गोर्खा रंगमञ्च भवनमा आयोजित कार्यक्रममा यसपाली जीटीएबाट प्रदान गरिने विभिन्न पुरस्कारहरु मुख्य अतिथिको रुपमा उपस्थित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको लगायत अन्यहरुका बाहुलीबाट प्रदान गरिएको छ। यसपाली जीटीएबाट प्रदान गर्ने पुरस्कारहरुमा दार्जिलिङका वरिष्ठ साहित्यकार नन्द हाङ्खिमलाई भानु पुरस्कारद्वारा अलङ्करण गरिएको छ। त्यसरी नै पत्रकारितामा यसपालीको पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पुरस्कार वरिष्ठ पत्रकार प्रमोद गिरीलाई प्रदान गरिएको छ। त्यसरी नै डीबी परियार स्मृति पुरस्कार(नाट्य/सिनेमा)- टेकबहादुर बराईलीलाई र यसपालीको जी डगलस स्मृति पुरस्कार(चित्रकला)- मा सिद्धार्थ राईलाई प्रदान गरिएको छ। त्यसरी नै यसपाली सामाजिक कार्यको लागि प्रदान गरिने धनवीर मुखिया स्मृति पुरस्कार स्व पञ्चरत्न प्रधानलाई प्रदान गरिएको छ।