सोनादा: कवि प्रणय शंकरकृत प्रथम कविता संग्रह “काँसभाँडा” विधिवत रूपमा लोकार्पण गरिएको छ। उक्त कविता संग्रहको लोकार्पण रंगबुलस्थित सार्वजनिक भवनमा नव जागृति सङ्घ शिव मन्दिर गाउँ,गोर्खा बस्ती रङबुलको आयोजनामा सम्पन्न भएको थियो। आरजे समीर छेत्रीले सञ्चालन गरेको कार्यक्रमलाई साहित्यकार गोकुल सिन्हाले अध्यक्षता गरेका थिए भने कार्यक्रममा डा. कविता लामा, डा. हर्क बहादुर छेत्री, वरिष्ठ साहित्यकार मनप्रसाद सुब्बा, प्रवीण राई जुमेली, डा. सुकराज दियाली, प्राध्यपक कबीर बस्नेत लगायत मिरिक, दार्जीलिङ, खरसाङ अनि कालेबुङबाट आएका साहित्यकारहरू र स्थानीय मानिसहरू लगायत अन्यको उपस्थिति रहेको थियो। कार्यक्रममा कवि पवित्र लामाले आफ्नो अभिसङ्गी कविता वाचन गरिन् भने दार्जीलिङ महाविद्यालय नेपाली विभाग तेस्रो सत्रकी विद्यार्थी मन्दिरा रावत, स्मिता खड्का, स्मिता सोताङ, सबनम खातुन अनि अन्यहरूले कविताहरू कविताहरू पठन गरेका थिए। यसरी नै अनिर तामाङ (दार्जीलिङ्गे कान्छ)हले आफ्नै शब्द अनि संगीतमा रहेको बोनस नामक गीत प्रस्तुत गरेका थिए। यता कार्यक्रम अध्यक्ष, अथिति, कविता संग्रहका कवि प्रणय शंकर, उनकी धर्मपत्नी रचना रावत अनि कविका माताको बाहुलीबाट काँस भाँड़ाको विधिवत रूपमा लोकार्पण गरियो। यस अवसरमा बुक आण्टको पक्षबाट कवि राजा पुनियानी अनि सुरज गुरूङले सर्जक प्रणय शंकरलाई स्मृति चिन्ह अनि खदा पहिराएर सम्मान जनाए। यसरी नै किताबलाई लिएर प्राध्यापक कबीर वस्नेतले समीक्षात्मक वार्ता प्रस्तुत गरे। अर्कोतिर कार्यक्रम अवधि साहित्य बनाम राजनीति विषयमा विमर्श गरियो। उक्त विमर्शमा कवि तथा पत्रकार मनोज बोगटी सहजकर्ताको रूपमा उपस्थित थिए भने प्यानलमा वरिष्ठ साहित्यकार मनप्रसाद सुब्बा, डा. कविता लामा अनि डा. हर्कबहादुर छेत्री उपस्थित थिए। यस अवसरमा डा. गोकुल सिन्हा अनि जीटीएका डेप्युटी चेयरमेन राजेश चौहानलाई पनि आयोजक समितिले सम्मान जनाएका थिए। कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा ‘काँस भाँडा’ का सर्जक प्रणय शंकरले भने, आज मेरो कविता संग्रह लोकार्पण कार्यक्रमको आयोजना गरिदिएकोमा सर्वप्रथम नव जागृति सङ्घ रङबुल गोर्खा बस्तीप्रति आभार प्रकट गर्दछु। यो किताब पाठकहरूले अनलाई प्लेटफर्म बुक आण्ट अनि हाम्रो किताब घरमार्फत् पाउन सकिन्छ भने। यसरी नै प्रकाशकले विभिन्न ठाउँको पुस्तक पसलहरूमा पनि उपलब्ध गराउने पनि बताए। यस क्रममा कवि शंकरले भने, हिजोसम्म पुस्तकको निम्ति पाठकहरूले मलाई शुभकामना व्यक्त गर्दै थिए भने आजदेखि म पाठकहरूलाई शुभकामना व्यक्त गर्दछु भने। आजदेखि काँसभाँडा कविता संग्रह पाठकको किताब रहेको उनले बताए। कार्यक्रममा नव जागृति संघ रंगबुल गोर्खा बस्तीद्वारा कवि प्रणय शंकरलाई सम्मान पनि गरिएको थियो। कार्यक्रमको सभाध्यक्ष वरिष्ठ साहित्यकार डा. गोकुल सिन्हाले आफ्नो सम्भाषणमा आज रंगबुलमा कवि प्रणय शंकरको किताब लोकार्पण समारोह एकदमै राम्रो भएको अनि यस्तो कार्यक्रम रंगबुलमा पहिलोपल्ट आयोजना गरिएको बताउँदै खुशी व्यक्त गरेका छन्। उनले रंगबुलको विषयमा पनि जानकारी गराएका थिए।











