अमाण्डा एनिसिमोवालाई पराजित विम्बल्डन च्याम्पियन बनिन् इगा स्वियातेक

1752389160659

लण्डन: पोल्याण्डकी इगा स्वियातेकले असाधारण प्रदर्शन गर्दै सालको तेस्रो ग्राण्ड स्ल्याम विम्बल्डनमा महिला एकल वर्गको खिताब जितिन्। स्वियातेकले चरम एकतर्फी फाइनलमा अमेरिकाकी अमाण्डा एनिसिमोवालाई सीधा सेटमा ६-०, ६-०-ले पराजित गरिन्। फाइनलमा अमाण्डाको प्रदर्शन चरम निराशाजनक रह्यो अनि उनले एउटा गेम पनि जित्न सकिनन्। यस जीतको साथै स्वियातेक विम्बल्डन च्याम्पियन बन्ने पोल्याण्डकी पहिलो महिला खेलाड़ी बनिन्। महिला एकल ऱ्याङकिंगमा विश्वकी पूर्व नम्बर एक खेलाड़ी स्वियातेकले यसअघि विम्बल्डनको खिताब चाहिँ जित्न सकेकी थिइनन् तर यसपाली उनले असाधारण प्रदर्शन गर्दै आफ्नो सपना पूरा गरिन्। महिला एकलमा यो उनको छैटौं ग्राण्ड स्ल्याम खिताब हो। यसअघि उनले चारपल्ट फ्रेञ्च ओपन र एकपल्ट यूएस ओपनको खिताब जितेकी थिइन्। स्वियातेकले २०२०, २०२२, २०२३, २०२४-मा फ्रेञ्च ओपन अनि २०२२-मा यूएस ओपनको खिताब जितेकी थिइन्।


महिला एकलको खिताब जित्न स्वियातेकलाई केवल ५७ मिनट समय लाग्यो। यसअघि सेमिफाइनलमा शीर्ष वरीयता प्राप्त आर्यना सबालेंकालाई पराजित गर्ने अमाण्डालाई स्वियातेकले कुनै मौका नै दिइनन्। यो ११४ सालमा पहिलोपल्ट भयो जब टुर्नामेण्टको महिला एकलको फाइनलमा कुनै खेलाड़ीले एउटा गेम पनि जित्न सकेन। दबाउमा परेर अमाण्डालाई शुरुदेखि नै असहज देखियो अनि उनले २८ वटा अनफोर्स्ड एरर गरिन्। स्वियातेकको यो ग्राण्ड स्ल्याम करियरमा १००औं जीत हो। उनले २०१९-मा ग्राण्ड स्ल्यामको मुख्य ड्र-मा पदार्पण गरेकी थिइन् अनि त्यस समयदेखि उनको ग्राण्ड स्ल्यामको मुख्य ड्र-मा रेकर्ड १००-२० रहेको छ। स्वियातेक २०२२, २०२३ र २०२४-मा अधिकांश समय नै डब्ल्यूटीए ऱ्याङकिंगको शीर्ष स्थानमा रहेकी थिइन् तर गत केही समयदेखि खराब प्रदर्शनले गर्दा उनी यसपाली विम्बल्डनमा आठौं वरीयता प्राप्त खेलाड़ीको रूपमा खेल्न ओर्लिएकी थिइन्। २३ वर्षीय अमाण्डाको यो कुनै ग्राण्ड स्ल्याम टुर्नामेण्टमा पहिलो फाइनल थियो। उनी २०१९-मा १७ सालको उमेरमा फ्रेञ्च ओपनको सेमिफाइनलमा पुगेकी थिइन्। स्वियातेकविरुद्ध फाइनलमा हारपछि उनलाई चरम निराश देखियो। उनलाई म्याच समाप्त भएपछि कोर्टमा रोईरहेको देखियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement