गान्तोक: राष्ट्रिय कृषि तथा ग्रामीण विकास ब्यांक (नाबार्ड) ले शुक्रवार आफ्नो ४४औं स्थापना दिवस पालन गऱ्यो। कार्यक्रमले राज्मा समावेशी र कृषि एवं ग्रामीण विकासप्रतिको आफ्नो प्रतिबद्धतालाई जोड़ दिएको छ। यस कार्यक्रममा सिक्किम सरकारको सहकारिता विभागकी सचिव ग्लोरिया नाम्चु मुख्य अतिथिकारूपमा उपस्थित थिइन्। कार्यक्रममा अन्य प्रतिभागीहरूमा सिक्किम राज्य सहकारी ब्यांक, सिस्को ब्यांक का महाप्रबन्धक आरएल शर्मा, एसएलबीसी सिक्किमका सहायक महाप्रबन्धक गोपाल लामा, सिक्किम राज्य सहकारी ब्यांक, एमपीएसीएसका पदाधिकारी, स्वयं सहायता समूहका सदस्य, नाबार्डका विकास परियोजनाहरूका लाभार्थी एजेसी र अन्य सामेल थिए। मुख्य अतिथि ग्लोरिया नाम्चुले आफ्नो सम्बोधनमा राष्ट्र सेवामा ४३ वर्ष र सिक्किम राज्यको सेवामा ४० वर्ष पूरा गरेकोमा नाबार्डलाई बधाई दिइन्। उनले ग्रामीण विकासमा नाबार्डद्वारा गरिएको महत्त्वपूर्ण योगदान अनि राज्य र केन्द्र सरकारको दृष्टिकोणसँग यसका पहलमाथि प्रकाश पारिन्। उनले भारत र सिक्किम राज्यमा सहकारी आन्दोलनमाथि जानकारी गराउँदै यसको विकास, वर्तमान चुनौती र योजनाबारे प्रकाश पारिन्। नाबार्ड सिक्किमका महाप्रबन्धक अजय कुमार सिन्हाले आफ्नो सम्बोधनमा देशको ग्रामीण विकासको सम्बन्धमा नाबार्डको व्यापक जनादेशमाथि प्रकाश पार्दै आजको कार्यक्रमको उद्देश्यलाई जानकारी गराए। स्थापनाकालदेखि नै ग्रामीण क्षेत्रको समावेशी विकासको लागि ग्रामीण उद्यमहरूलाई प्रवर्द्धनमा ध्यान केन्द्रित गरेर नाबार्डले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए। उनले ग्रामीण अर्थतन्त्रको विकासको लागि राज्यमा नाबार्डद्वारा गरिएका एमएसएमई र सहकारी क्षेत्रहरूमा केन्द्रित विभिन्न विकासात्मक पहलहरूको थप उल्लेख गरे। यस क्रममा नाबार्ड, सिक्किमका उपमहाप्रबन्धक अनिल कुमार यादवले पछिल्ला चार दशकमा नाबार्डको उल्लेखनीय यात्राबारेमा अवगत गराए। उनले वित्तीय र विकासात्मक सहयोगको माध्यमद्वारा ग्रामीण समृद्धिलाई बढावा दिने दृष्टिकोणका साथ स्थापित नाबार्डको उत्पत्तिमाथि प्रकाश पारे। कार्यक्रममा प्राथमिक कृषि ऋण समितिहरूलाई सम्मानित गरिएको थियो। यस अतिरिक्त, सिस्को ब्यांकका तीन सर्वश्रेष्ठ प्रदर्शन गर्ने शाखाहरू सिङ्ताम, मंगन र तादोङ शाखालाई वित्तीय समावेशीकरणका लागि सम्मानित गरियो।









