पद्मश्री सानु लामाको निधनमा चिया कविताद्वारा शोक प्रकट

IMG-20250712-WA0121

गान्तोक: नेपाली साहित्यमा कथा, गीत र संस्मरण लेखनमा स्वनामधन्य साहित्यकार सानु लामा (पद्मश्रीले सम्मानित) को निधनमा चिया कविता, सिक्किमले शोक व्यक्त गरेको छ। चिया कविता सिक्किमका संयोजक प्रवीण खालिङले शोक सन्देश जारी गर्दै उनको निधनले नेपाली साहित्याकाशमा एउटा उज्यालो नक्षत्रको कमि खट्किने बताएका छन्। उनले नेपाली साहित्यमा कथा, गीत र संस्मणमा चलाएको कलमले साहित्यको ढिकुटीमा गहकिलो योगदान पुऱ्याएको बताएका छन्। कथासम्पद् (कथासङ्ग्रह), गोजिका (कथासङ्ग्रह), मृगतृष्णा (कथासङ्ग्रह), सूर्यको तेस्रो किरण (कथासङ्ग्रह), हिमालचुली मुन्तिर (आत्मपरक वृत्तान्त), आँगन परतिर (भ्रमण वृत्तान्त), जोसमणि सन्त परम्परा अनि साहित्य (सङ्कलन), जहाँ बग्छ टिस्टा रङ्गीत (गीति काव्य सङ्कलन), भगवान् बुद्ध: जीवन अनि दर्शन (अनुवाद), गुरु पद्म सम्भव साधना (अनुवाद), दुख्नु उत्तिकै छ (कथा संग्रह) भर्खरै प्रकाशित र आँगन परतिर-भाग-२ (प्रकाशोन्मुख) आदिका स्रष्टा अब सशरीर नरहनुको अभाव सधैँ खट्किरहने संयोजक खालिङले बताएका छन्। १९३९ को १५ जुनमा जन्मिएका साहित्यकार लामाले ८८ वर्षको जीवनकालमा साहित्यसितै सरकारी अधिकारी (अभियन्ता) को रूपमा समाजलाई दर्बिलो सेवा पुऱ्याएका छन्। यसैगरि उनले नेपाली साहित्य परिषद्को अध्यक्ष तथा सिक्किम अकादेमीका पहिलो अध्यक्ष जस्तो गरिमामय पदमा रहेर भाषा, साहित्य र कलाको उत्थानमा अविस्मरणीय योगदान सदाकालको निम्ति सम्झनामा रहने बताएका छन्। साहित्य जगतका एक मुर्धन्य सर्जक एवं शिखर-पुरुष लामाले सन् १९९३ मा साहित्य अकादमी पुरस्कार, सन् २००० मा मदन व्याख्यानमाला पुरस्कार र सन् २००५ मा भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्री लगायत अन्य विभिन्न पुरस्कार एवं सम्मानद्वारा सम्मानित भइसकेका थिए। संयोजक खालिङले अब उसो कर्म र कृति अजर अमर बनेर हामीमाझ अजम्बरी रहिरहनेछन् भन्दै उनको आत्माको चिरशान्तिका कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement