गान्तोक: सिक्किम राइफल एण्ड पिस्तोल एसोसिएशनले अब चाँडै नै गान्तोकमा राइफल एण्ड पिस्तोल एकादमी शुरु गर्ने जानकारी गराइएको छ। पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा एसोसिएशनका अध्यक्ष सञ्जय बुढाथोकीले राज्यमा यस खेलको क्षेत्रमा राष्ट्रीय साथै अन्तर्राष्ट्रीयस्तरमा खेल्न सक्ने खेलाडीहरु तयार गर्ने उद्देश्यले एकादमी शुरु गरिरहेको जानकारी गराए। यसलाई खेलको भावनाले शुरु गरेको बताउँदै भविष्यमा ओलम्पिक साथै कमनवेल्थ गेम्ससम्म प्रदर्शन गर्न सक्ने क्षमता भएको खेलाडीहरु तयार गर्न सकिने बताए। एकादमी तादोङमा शुरु हुने र आगामी अगस्त महिनाभित्र तयार गरिने बताए। उनले सिक्किमका इच्छुक व्यक्तिहरुलाई एकादमीमा भर्ना लिने आव्हान गरे। अनलाइन गेमको लतमा लागेका बालक साथै युवाहरुलाई शारीरिक साथै मानसिक स्वस्थप्रति जागरुक गराउन एकादमीले मदत पुऱ्याउने जानकारी गराएको छ। प्रचार सचिव सुमित शर्माले यस खेलको तकनिकी पक्षहरुबारे जानकारी गराउँदै हालसम्ममा ६० जना विद्यार्थीहरुले पहिलो सत्रका कक्षाहरुका लागि आफ्नो नाम दर्ता गरिसकेको बताए।