गान्तोक: साहित्यकार पद्मश्री सानु लामाको निधनप्रति राज्यपाल ओमप्रकाश माथुरले गहिरो शोक प्रकट गरेका छन्। राज्यपालले आफ्नो शोक सन्देशमा भनेका छन्, “साहित्यकार जीएस लामाको निधनको समाचार सुनेर अत्यन्त दुःखित बने। लामा, जसलाई सानु लामाको नामले र पद्मश्री पदकले सम्मानित लामा नेपाली साहित्यका एक महान साहित्यकारका रुपमा प्रतिष्ठित रहेको उल्लेख गर्दै राज्यपालले उनका नाम विशेषरूपले कालजयी गीत ‘जहाँ बग्छ टिस्टा रंगीत’ को रचियताको रूपमा स्मरणीय रहने बताए। साहित्यको क्षेत्रमा उनको योगदान अविस्मरणीय रहनेछ भन्दै उनले लामाको निधन साहित्य जगतमा अपूरणीय क्षति पुगेको आफ्नो शोक सन्देशमा उल्लेख गरेका छन्। यसरी नै मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि नेपाली साहित्य जगतका एक यशस्वी स्रष्टा, कुशल गीतकार तथा राष्ट्रप्रेमी महान व्यक्तित्व पद्मश्री गरुडसिंह लामाको दुःखद निधनप्रति गहिरो शोक प्रकट गरेका छन्। मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमा उल्लेख गरे अनुसार लामा नेपाली भाषा, साहित्य र सांस्कृतिक चेतनाको सम्वर्द्धनमा समर्पित भएकोले सबैको मनमा गहिरो छाप छोडेको बताए। उनको सृजनात्मक प्रतिभा, गीतात्मक सौन्दर्य, र नेपाली साहित्यप्रतिको समर्पणले सिक्किमको साहित्यिक परम्परालाई समृद्ध बनाउँदै राष्ट्रियस्तरमै गौरव बढाएको उल्लेख गरेका छन्। उनको अमर कृति- ‘जहाँ बग्छ टिस्टा रंगीत’ हामी सबैको हृदय-स्पन्दनमा सदैव प्रतिध्वनित भइरहने उल्लेख पनि गरेका छ्न्। मुख्यमन्त्री तामाङले सम्पूर्ण सिक्किमवासी जनताको तर्फबाट साहित्यका एक उज्ज्वल नक्षत्र पद्मश्री लामाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार, आत्मीयजनहरू तथा समस्त प्रशंसकहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन्। उनको निधनले राज्यको मात्र नभएर नेपाली साहित्यिक जगतमा अपूरणीय क्षति रहेको बताउँदै उनको विरासतले भावी पुस्तालाई सदा प्रेरित गरिरहने बताएका छन्।