विम्बल्डनः सिनर र अल्काराज पुरुष एकलको फाइनलमा, जोकोविचको बिदाई

photocollage_20257121428876

लण्डन: विश्वका नम्बर एक खेलाड़ी यानिक सिनरले सर्बियाका दिग्गज खेलाड़ी नोवाक जोकोविचललाई सीधा सेटमा पराजित गरी विम्बल्डन टेनिस च्याम्पियनशीपमा पुरुष एकलको फाइनलमा प्रवेश गरे। इटलीका खेलाड़ी सिनरले रेकर्ड २४ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन जोकोविचलाई सेमिफाइनल म्याचमा ६-३, ६-३, ६-४-ले पराजित गरे। अब आइतवार खेलिने पुरुष एकलको फाइनलमा सिनरको भिड़न्त स्पेनका स्टार खेलाड़ी कार्लोस अल्काराजसँग हुनेछ। विम्बल्डनमा गत २ पल्टका विजेता अल्काराजले पहिलो सेमिफाइनलमा अमेरिकी खेलाड़ी टेलर फ्रिट्जलाई पराजित गरे। यसरी फ्रेञ्च ओपनपछि अहिले विम्बल्डनमा पनि सिनर र अल्काराजबीच खिताबी भिड़न्त तय भएको छ। फ्रेञ्च ओपनमा सिनरलाई पराजित गरी अल्काराजले खिताब जितेका थिए। सर्बियाई दिग्गज जोकोविच यसपाली आफ्नो २५औं ग्राण्ड स्ल्याम जित्ने लक्ष्य लिएर खेल्न ओर्लिएका थिए तर सिनरले उनको सपनालाई तोड़े। इटलीका २३ वर्षीय खेलाड़ी सिनर यसअघि पनि विम्बल्डनमा २ पल्ट जोकोविचविरुद्ध पराजित भएका थिए तर यसपाली चाहिँ उनले ताकत र सटीकताको साथ चमत्कारी प्रदर्शन गर्दै ७ पल्टका च्याम्पियनलाई २ घण्टाभन्दा कम्ती समयमा पराजित गरे। ३८ वर्षीय जोकोविचलाई म्याचको शुरुवाती २ वटा सेटमा संघर्ष गरिरहेको देखियो। सिनरले पहिलो २ सेटमा आफ्नो सर्विसमा केवल ६ पोइण्ट्स गुमाए अनि जोकोविचलाई कुनै मौका दिएनन्। तेस्रो सेटमा जोकोविचले सामान्य फर्म हासिल गरेर ३-०-को बढ़त हासिल गरेका थिए तर सिनरले पनि तुरन्तै पुनरागमन गर्दै सर्बियाई दिग्गजलाई पराजित गरे। सेण्टर कोर्टमा खेलिएको म्याचमा जीत हासिल गरेर शीर्ष वरीयता प्राप्त सिनरले पहिलोपल्ट विम्बल्डनको फाइनलमा प्रवेश गरे।
यसरी स्पेनिश स्टार अल्काराजले पहिलो सेमिफाइनलमा टेलर फ्रिट्जलाई ६-४, ५-७, ६-३, ७-६ (६)-ले पराजित गरे। यसरी २२ वर्षीय अल्काराजले लगातार तेस्रोपल्ट टुर्नामेण्टको फाइनलमा प्रवेश गरे। गत दुई साल खिताब जित्ने अल्काराजसँग अहिले अझ एउटा ट्रफीको साथ इतिहास रच्ने मौका रहेको छ। फाइनलमा सिनरलाई पराजित गरेर विम्बल्डनमा च्याम्पियन बन्ने ह्याट्रिक पूरा गर्न सके उनी ब्योन बोर्ग, पीट सम्प्रास, रोजर फेडरर र जोकोविचपछि यस उपलब्धिलाई हासिल गर्ने पाँचौं खेलाड़ी बन्नेछन्। दोस्रो वरीयता प्राप्त अल्काराजले फ्रिट्जलाई पराजित गरी विम्बल्डनमा लगातार २४औं म्याचमा जीत हासिल गरे। पाँचौं वरीयता प्राप्त फ्रिट्ज गत वर्ष यूएस ओपनमा सिनरविरुद्ध पराजित भएर उपविजेता रहेका थिए। साल २००९-मा एण्डी रडिकपछि फ्रिट्ज विम्बल्डनको फाइनलमा पुग्ने पहिलो अमेरिकी खेलाड़ी बन्ने प्रयासमा जुटेका थिए तर अल्काराजले उनको सपना पूरा हुन दिएनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement