गान्तोक: सोरेङ जिल्ला पुलिसले आज भारी मात्रामा ड्रग्ससहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी पिपले रातेपानी निवासी सुजितकुमार सुब्बाकोरूपमा चिन्हित गरेको छ। पुलिसले जानकारी गराएअनुसार आज नयाँ बजारको अक्कर बुथबाट एसके ०४-पी-३३०२ वेगनर वाहनमा सवार सुब्बासँग ड्रग्स रहेको शंका लागेपछि जाँच गरेको थियो। जाँचको क्रममा आरोपीबाट पुलिसले ८३८ वटा विन्डलास विन्सपास्मो फोर्ट क्याप्सुल फेला पारेको थियो। पुलिसले सोरेङ जिल्लाका महकुमा अधिकारी साक्छुम लेप्चाको उपस्थितिमा ड्रग्स बरामद गर्दै आरोपीविरूद्ध एनडीपीएस एक्ट १९८५ र सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ। पुलिसको भनाइअनुसार आरोपी सुब्बाले धेरै दिनदेखि ड्रग्सको धन्दा गर्दै आइरहेको थियो। आरोपीमाथि पुलिसले केही दिनदेखि कडा निगरानी राख्दै आएका थिए। पुलिसले ड्रग्ससंगै वाहन पनि आफ्नो अधिनमा लिएको छ। सोरेङ जिल्ला पुलिस नशालु पदार्थविरूद्ध सक्रिय देखिएको छ अनि अभियानमा संघ संस्थाहरूलाई पनि सहयोग गर्ने आग्रह गरेको छ। यसबीच हिजो रम्फू पुलिसले ड्रग्ससहित तीन जना आरोपीलाई पक्राउ गरेको छ। पक्राउ पर्ने आरोपीहरूमा अनुप दर्जी, अफ्ताब अन्सारी र जिकरूला अन्सारीकोरूपमा चिन्हित भएको छ। पुलिसले विश्वसनीय सूत्रको आधारमा आरोपीको घरमा छापा मारेका थिए। पुलिसले आरोपीबाट स्पास्मो प्रोक्सिवन क्याप्सुल, कफ सिरप र ब्राउन सुगर फेला पारेको छ। आरोपी अफ्ताब अन्सारी आइबीएममा किरायाको घरमा बस्दै आइरहेका थिए। पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्र्ग्स एक्ट १९८५ र सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।