गान्तोक: सिटिजन एक्शन पार्टी, सिक्किम (क्याप सिक्किम) को कार्यकारी समितिको सभा आज पूर्व सिक्किमको गान्तोक जिल्लाअन्तर्गत अदमपुल स्थित पार्टी मुख्यालयमा बस्यो। दुई चरणमा सम्पन्न सभालाई पार्टी अध्यक्ष गणेश कुमार राईले अध्यक्षता गरेका थिए। पहिलो चरणको सभा राज्यका सबै ६ वटा जिल्लाका अध्यक्षहरूलाई लिएर बसेको थियो। सभामा साङ्गठनिक विस्तारमाथि चर्चा गरिएको पार्टीले प्रेस विज्ञप्ती जारी गरेर बताएको छ। सभालाई सम्बोधन गर्दै अध्यक्ष राईले पार्टीलाई ग्रामीणस्तरमा बलियो बनाउनुपर्ने कुरामा जोर दिए। पार्टी कार्यकर्ताहरूले प्रत्येक राज्यवासीलाई पार्टीको नीति र सिद्धान्त बारे अवगत गराउनुपर्ने उनले बताए। यसको साथै पार्टीले चाँड़ै यूनिट भोलेन्टियर काउन्सुल गठन गर्ने पनि अध्यक्ष राईले सभालाई जानकारी गराए। पार्टीको मुख्यालयले जिल्ला कार्यकारी काउन्सिलहरूलाई सक्दो सबै सहयोग प्रदान गर्ने प्रतिवद्धता पनि जाहेर गरे।

यसरी नै दोस्रो चरणको सभा पार्टीका प्रचार प्रसार विभागका सदस्यहरूलाई लिएर बसेको थियो। पार्टीलाई जनस्तरमा पुऱ्याउन प्रचार प्रसार विभागले विशेष भूमिका निभाउनुपर्ने अध्यक्ष राईले आफ्नो सम्बोधनमा बताए। पछिल्ला समय प्रचार प्रसार विभागमार्फत भएका कामहरूको प्रशंसा गर्दै पार्टीका संदेशहरूलाई अझ प्रभावकारी ढंगमा जनतामा पुऱ्याउनुपर्ने उनले सुझाउ दिएका छन्।
पार्टीले अब साङ्गठनिक बल वृद्धि गरेर जनसम्पर्क अभियानलाई तीव्र बनाउने विज्ञप्तीमा थप बताइएको छ।