गान्तोक: विश्व युवा क्षमता दिवसको उपलक्ष्यमा आज मंगन जिल्लामा सञ्चालित प्रधानमन्त्रीश्री वरिष्ठ माध्यमिक विद्यालयमा कौशल विकासबारे आउटरिच कार्यक्रम आयोजन गरियो। सिक्किम राज्य स्थापनाको ५० वर्षगाँठ महोत्सवको उपलक्ष्यमा सिक्किम इन्स्टिट्युट अफ् क्यापासिटी विल्डिङ र राज्य सरकारको क्षमता विकास विभागको संयुक्त पहलमा कार्यक्रम आयोजन गरिएको हो। यस वर्षको विश्व युवा क्षमता दिवसको विषय आर्टिफिसियल इन्टिजेन्स रहेको थियो। कार्यक्रमको उद्देश्य युवाहरूलाई व्यावसायिकरूपमा जागरूकता गराउनु, आत्मनिर्भर र प्रगतिशील सिक्किम निर्माणमा सक्रियरूपमा सहभागिता गराउनु थियो। यस अवसरमा मुख्य अतिथि रहेका क्षेत्र विधायक एवं सामाजिक कल्याण विभागीय मन्त्री साम्डुप लेप्चाले क्षमता विकासको महत्त्व र अनुशासन, समय व्यवस्थापनमा युवाहरूको भूमिकाबारेमा अवगत गराए। उनले विद्यार्थीहरूलाई अवसरहरूलाई सदुपयोग गर्ने र सुनौलो, समृद्ध र सक्षम राज्य अभियानमा सहभागी बन्ने सल्लाह दिए। यसक्रममा विशिष्ट अतिथि वन विभागीय मन्त्री पिन्छो नामग्याल लेप्चाले रोजगार सिर्जना र आर्थिक वृद्धिबारे जानकारी गराए। उनले युवाहरूलाई परिश्रमको सम्मान गर्न प्रोत्साहित गर्दै मंगन जिल्लाले राज्य र राष्ट्रिय मञ्चहरूमा सक्षम प्रतिनिधिहरू उत्पादन गर्ने उल्लेख गरे। यसबीच मंगन जिल्लापाल अनन्त जैनले असफलता नै सफलताको शुरु रहेको बताउँदै विद्यार्थीहरूलाई प्रयासलाई निरन्तरता दिनुपर्ने सुझाउ दिए।