गान्तोक: आज गुरु पूर्णिमाको अवसरमा भारतीय जनता पार्टीका नेतृत्ववर्ग साथै कार्यकर्ताहरूले राज्यका विभिन्न मठ, मन्दिर, गुम्बा तथा आश्रमहरू जस्तै टिबेट रोडस्थित भीमादेवी मन्दिरका प्रसिद्ध गुरूजी, देउरालीस्थित छुर्तेन गुम्बाका टुल्कु रिम्पोछे, इञ्चे गुम्बा, रानीपूल नजिक आदिगुरू शंकराचार्य मन्दिरमा भ्रमण गरी प्रार्थना साथै श्रद्धेय गुरूहरूप्रति सम्मान जनाएर आशीर्वाद तथा मार्गदर्शन लिएका छन्। यस क्रममा सबैले आ-आफ्नो सांस्कृतिक परम्पराअनुसार गुरूहरूलाई सम्मान प्रकट गरेका छन्। पार्टीका नेताहरूले गुरु पूर्णिमाको सन्देशलाई आत्मसात गर्दै समाजमा सांस्कृतिक, नैतिक तथा आध्यात्मिक मूल्यहरूको संरक्षणप्रति जोर दिएका छन्।

पार्टीले प्रेस विज्ञप्ती जारी गरेर भनेको छ, गुरु पूर्णिमालाई विभिन्न धर्मावलम्बीहरूले आ-आफ्नो परम्परा अनुसार आषाढ महिनाको पूर्णिमा तिथिमा मनाइन्छ। यो पर्व गुरुहरूको सम्मान र कदर गर्न समर्पित छ, किनभने गुरुले जीवनमा ज्ञान, नैतिकता र आध्यात्मिक मार्गदर्शन प्रदान गर्छन्। हिन्दू धर्म अनुसार गुरु पूर्णिमालाई व्यास पूर्णिमा पनि भनिन्छ, किनभने यो दिन महान ऋषि वेदव्यासको जन्मजयन्तीको रूपमा मनाइन्छ। यो दिन गुरु-शिष्य परम्पराको प्रतीकको रूपमा मनाइन्छ।