गान्तोक: एसकेएम पार्टीको सांस्कृतिक प्रकोष्ठको संयोजनमा राज्यमा पहिलोपल्ट अन्तर्राष्ट्रीयस्तरको नृत्य प्रतियोगिताको अडिसन गरिने भएको छ। राज्यका प्रतिभाहरूलाई राष्ट्रीय र अन्तर्राष्ट्रीयस्तरको मञ्चमा पुऱ्याउने उद्देश्यले आगामी २८-२९ जुलाईको दिन स्थानीय मनन केन्द्रमा अडिसन गरिने एसकेएम सांस्कृतिक प्रकोष्ठका समन्वयक मनोज लामाले जानकारी गराए। आज जिरो पोइन्टस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त अडिसनमा सिक्किमका मात्र नभएर देशका विभिन्न राज्यबाट अडिसन दिन कलाकारहरु आउने बताए। दुई दिवसीय अडिसनको मुख्य निर्णायक मण्डलीमा युवा कोरियोग्राफर समर्पण लामा, नोर्बु लामा, सममकी फ्लोरिना गोगाई र सुष्मिता तामाङ रहनेछन्। उक्त प्रतियोगिताको फाइनल काठमाडौंमा देश-विदेशका निर्णायकहरुबीच हुने जानकारी पत्रकार सम्मेलनमा गराए। अडिसनमा राज्यका प्रतिभाहरूले आफ्नो पारम्पारिक तथा फ्यूजन नृत्यहरु प्रदर्शन गर्न सक्ने भनाइ छ। राज्यको लोक सांस्कृतिलाई विश्वसामु पुऱ्याउने यस अडिसनको मूख्य उद्देश्य रहेको छ। राज्यका प्रतिभाहरूको निम्ति कुनै पञ्जीकरण शुल्क नलाग्ने आयोजक समितिका लामाले बताए। राज्यका कलाकारहरूले अडिसनका लागि विभिन्न स्थानमा जाँदा भोग्ने समस्यालाई मध्यनजर राख्दै यसपालीको अडिसन सिक्किममा नै आयोजन गरेको बताए। उक्त अडिसनमा राज्यका दसजना उत्कृष्ट प्रतिभाहरूलाई छनौट गरिनेछ भने छनौट भएकाहरूलाई काठमाड़ौंमा लगेर प्रशिक्षण दिइने उनको भनाइ छ। अडिसनमा एकल साथै समूहले पारम्पारिक पोषाकमा प्रदर्शन गर्नुपर्ने आयोजक समितिले बताएको छ। यसक्रममा डा. मनोज राईले अडिसन अन्य प्रतियोगिताहरू भन्दा भिन्न प्रकारले आयोजना गरिने बताए। यसमा भोटिङ राउण्ड नहुने र भोटिङ सिस्टमले कलाकारहरूको कलाको सम्मान नहुने साथै होनहार कलाकाहरू पछि आउट हुन सक्ने बताए। सिक्किममा धेरै प्रतिभाशाली कलाकारहरुले मञ्चको कमिको कारण आफ्नो प्रतिभा देखाउन नसकेको उल्लेख गर्दै राज्यका सबै प्रतिभाहरूलाई अडिसनमा सहभगी बनेर अनुभव हासिल गर्ने आग्रह राईले गरे।