गान्तोक: सिक्किम सरकारका जनस्वास्थ्य अभियान्तिकी विभागीय मन्त्री सोनाम लामाले आफ्नो आधिकारिक दिल्ली भ्रमणको अवधिमा विभिन्न केन्द्रीय मन्त्रीहरुसंग भेट गरेका छन्। यसअन्तर्गत उनले केन्द्रीय संसदीय मामिला मन्त्री किरण रिजिजूसँग भेट गरे। बैठकले राज्य र केन्द्र सरकारहरूबीचको समन्वयलाई सुदृढ पार्ने कुरामा जोड़ दिँदै धार्मिक, सांस्कृतिक र विकासात्मक पहलहरूसम्बन्धी माव्यापकरुपमा छलफल गरेको थियो। छलफलमा सिक्किमको अद्वितीय सांस्कृतिक सम्पदाको लागि सहकार्य र सहयोगका सम्भावित क्षेत्रहरूमाथि चर्चा गरियो। राज्यमा केन्द्रीय योजनाहरूको कार्यन्वयनमा सुधार गर्ने कुरामा जोड दिइएको थियो। बैठकले राज्य र केन्द्रबीच पारस्परिक सहयोग र समझदारीलाई बढावा दिने दिशामा एक कदम अगाडि बढेको संकेत गराएको छ। सिक्किम राज्यको विकासमा प्राथमिकताबारे छलफल गर्न मन्त्री लामाले केन्द्रीय मन्त्रीसमक्ष माग राखे। यसैगरि, मन्त्री लामाले आज अर्को एक भेटको क्रममा केन्द्रीय सञ्चार तथा उत्तरपूर्व क्षेत्रीय विकास (डोनर) मन्त्री ज्योतिरादित्य माधवराव सिन्धियासँग पनि भेट गरे। भेटको क्रममा सञ्चार पूर्वाधार बढाउने, कनेक्टिभिटी सुधार गर्ने र सिक्किममा चलिरहेका विकास परियोजनाहरूलाई अगाडि बढाउने कुरामा जोड़ दिएको थियो। यसबीच मन्त्री सोनाम लामाले आज साँझ नयाँ दिल्लीमा केन्द्रीय जलशक्ति मन्त्री सीआर पाटिलसँग भेट गरे। बैठकले सिक्किममा जलस्रोत व्यवस्थापनलाई सुदृढ पार्ने र राज्यमा चलिरहेका पीएचई र पानी आपूर्ति परियोजनाहरूको विकासको माग पनि राखे। मन्त्री लामाले दिगो जलापूर्ति विकास र पूर्वाधार सुधारको लागि केन्द्र र राज्यबीचको सहकार्य बढाउने कुरामा ध्यान दिने आग्रह गरे।