गान्तोक: भाषा सङ्ग्रामी तथा सिक्किमकी पूर्व लोकसभा सांसद दिलकुमारी भण्डारीले भानु पुरस्कार प्रापत साहित्यकार एसडी ढकाललाई शुभकामना व्यक्त गरेकी छन्। उल्लेख्य, नेपाली साहित्य परिषद् सिक्किमले वर्ष २०२५ को भानु पुरस्कारका निम्ति वरिष्ठ साहित्यकार ढकाललाई चयन गरेको छ। पूर्व सांसदले यस निर्णयमाथि हर्ष व्यक्त गर्दै नेपाली भाषा मान्यताको संघर्षकालमा ढकालको योगदान उल्लेखनीय रहेको उल्लेख गरेकी छन्। भण्डारीले त्यस समयको प्रतिकुल परिस्थितिमा पनि दिल्लीबाट प्रथमपल्ट ‘बिजुवा’ नामक साहित्यिक पत्रिका प्रकाशन गरेर नेपाली भाषा-साहित्यको सेवामा सराहनीय कार्य गरेको बताएकी छन्। साहित्यकार ढकालको योगदानको कदर गर्दै राज्यको शीर्षस्थ पुरस्कारले सम्मानित गर्ने निर्णय लिएर नेपाली साहित्य परिषद् सिक्किमले सराहनीय कार्य गरेको उल्लेख गरिन्। उनले भानु पुरस्कार प्रापक ढकाललाई अग्रीम बधाईसँगै शुभकामना व्यक्त गरेकी छन्।