सोरेङ: सिक्किम राज्य स्थापनाको ५० औं वर्षागाँठको अवसरमा गेजिङ जिल्लाको सरकारी औद्योगिक प्रशिक्षण संस्थान र नाम्ची जिल्ला क्षमता विकास विभागले जिल्ला क्षमता समिति सोरेङसँगको सहकार्यमा आज सिक्किम इन्स्पायर्सअन्तर्गत सोरेङमा क्षमता विकास कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रम विश्व युवा क्षमता दिवसको अवसरमा आयोजना गरिएको हो। जुन प्रत्येक वर्ष १५ जुलाईमा मनाउने गरिन्छ। आजको यस कार्यक्रममा सिक्किम राज्य ब्यांकका अध्यक्ष डीबी गुरूङ मुख्य अतिथिकारूपमा उपस्थित थिए। यस अवसरमा साइक्लिङ प्रतियोगिताको पनि आयोजना गरिएको थियो, जसलाई मुख्य अतिथि गुरूङले झण्डा हल्लाएर प्रस्थान गराए। कार्यक्रमलाई सम्बोधन गर्दै गुरूङले सबैलाई सशक्त बनाउन र आत्मनिर्भर हुनको निम्ति सरकारद्वारा शुरू गरिएको विभिन्न योजनाहरूको उपयोग गर्न आग्रह गरे। उनले विभिन्न सरकारी पहलहरूको महत्त्वलाई जोड दिँदै वर्तमान सरकारले शुरू गरेको धेरै कल्याणकारी र सीप विकास कार्यक्रममाथि प्रकाश पारे। सिक्किम राज्य ब्यांकले प्रेरणादायी कार्यशालाहरू आयोजन गर्दै आइरहेको बताए। विशेष गरेर ब्यांकले राज्यका बेरोजगार युवाहरूलाई उद्यामी बनाउनको निम्ति क्षमता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने विषयमाथि जोड दिए। वर्तमान सरकारद्वारा शुरू गरिएको एक परिवार, एक उद्यमी योजनाबारे उल्लेख गर्दै उनले यसमाथि योगदान गर्ने प्रोत्साहित गरे। यसक्रममा जीआइटीआईका प्राचार्य एमएन भोटियाले जीआइटीआईद्वारा शुरू गरिएका विभिन्न प्रकारको पहलबारेमा जनकारी गराए। सोही क्रममा प्रशिक्षक रोशन काफ्लेले क्षमता विकासको अवधारणा र पक्रियाबारेमा विस्तृतरूपमा अवगत गराए। उनले सरकारद्वारा शुरू गरिएको क्षमता विकास कार्यक्रमहरू र आत्मनिर्भरता सिर्जना गर्न कार्यक्रमको भूमिकाबारेमा पनि अवगत गराए।