गान्तोक: राज्यका ६ जिल्लामा सञ्चालित स्वयं सहायतमा समूहबाट कूल १२ जना महिलालाई सरकारका विभिन्न विभागमा विशेष कार्य अधिकारी (ओएसडी) र अध्यक्ष पदमा मनोनित गरेपछि एसएचजी समूहमा हर्ष छाएको छ। नवमनोनित अध्यक्षहरू तथा ओएसडीहरुले मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गगरेका छन्। आज राजधानीस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पीएचई विभागका नवमनोनित अध्यक्ष छुमिला भोटियाले मुख्यमन्त्री तामाङले बोलेको कुरालाई व्यवहारमा उतार्ने काम गरेको बताइन्। साना ठाउँबाट आएका महिलाहरूलाई उपहारस्वरुप उच्च सम्मान दिएको दाबी गरिन्। एसएचजीबाट १२ जना महिलालाई जिम्मेवारी पद दिएकोमा राज्यभरिका एसएचजीका सदस्यहरूमा खुशी छाएको अवगत गराइन्। उनले थप जानकारी गराएअनुसार पूर्व सरकारको कार्यकालमा एसएचजीलाई लाचार र असक्षमको रुपमा हेरिन्थ्यो भने वर्तमान सरकारले महिलाहरुलाई आत्मनिर्भर र सक्षम बनाएको दाबी गरिन्। एसएचजीको मुख्य उद्देश्य ग्रामीण क्षेत्रका नारीहरूलाई आर्थिकरूपमा मजबुत बनाउनको निम्ति अवसर सृजना गरेर आत्मनिर्भर बनाउनु रहेको बताउँदै कृषि विभागीय अध्यक्षको पदमा नियुक्त भएकी लिली राईले सरकारले महिलाहरुमाथि ठूलो भरोसा साथै विश्वास गरेर यति ठूलो पदभार सुम्पिएकोमा धन्यवाद दिइन्। मुख्यमन्त्री तामाङले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरिन्। यसरी नै सिक्किम उपभोक्ता मामिला विभागकी नवनियुक्त अध्यक्ष शान्ति लिम्बूले मुख्यमन्त्री तामाङले एसएचजीका महिलाहरुलाई लाई उच्च पदमा नियुक्त गर्ने वचनलाई पूरा गरेको बताइन्।