पट्टा पाएपछि जमीनको मालिकना हक अब पट्टाधारीको नाममा पञ्जिकृत भयो: अनित थापा
दार्जिलिङ: दार्जिलिङ सदर उप-डिभिजनका पुल बिजनबारी, जोरबङलो, सुखियापोखरी तथा आरआर ब्लकका ९४ परिवारलाई आज वन स्वामित्व दस्तावेज (पट्टा) वितरण गरिएको छ। सुखे पोखरीको सार्वजनिक भवनमा आयोजित कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) का मुख्य कार्यपाल अनित थापा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। उक्त कार्यक्रम दार्जिलिङ जिल्ला प्रशासन र जीटीएको सहकार्यमा सम्पन्न भएको हो। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै जीटीए प्रमुख अनित थापाले भने, ‘फरेस्ट भिलेजका ९४ परिवारहरूलाई आज हामीले पट्टा वितरण गर्यौ। आज २४ ऐकड जमीन पञ्जिकृत भएको छ। जबसम्म हाम्रो जमीनको पञ्जिकरण हुँदैन, भोलिको दिन के हुन्छ, सरकारले कस्तो नियम ल्याउँछ भन्नु सक्दैनौं। त्यसैले आज नै हामी सतर्क रहनुपर्छ। हामी बसेको जमीन हाम्रो हो। तर यो जमीन हाम्रो नाममा पञ्जिकृत भएको छैन। यो यथार्थ हो। जमीनको पञ्जिकरण गर्ने कार्यलाई हामी अघि बढाएर लानेछौं।’
उनले अघि भने, ‘जेनेरल जातिले पनि पट्टा पाएको छ। सर्भे पनि भएको छ। पट्टा पाउनु टेक्निकल कुरा पनि हो। जबसम्म सरकारले मागेको दस्तावेज बुझाउनु सकिन्न तबसम्म सरकारले पट्टा दिँदैन। हामी दस्तावेजको क्षेत्रमा कमजोर नै छौ। यस विषयमा हामीले धेरै काम गर्नुपर्छ। आजसम्म जमीन फरेस्टको अधीनस्थ थियो। पट्टा पाएपछि जमीनको मालिकना हक अब पट्टाधारीको नाममा पञ्जिकृत भयो। सुरुमा सरकारले जमीनको पट्टा दिनु खोज्दा हामीले नै यसको विराेध गरेका थियौं। आजसम्म केवल ५१२ जनाले मात्र पट्टा पाउनुको मूल कारण यो पनि हो।’
थापाले अझ भने, ‘मानिसहरूले अब अन्योलता छोडेर सत्य कुरा बुझ्नु थालेको छ। त्यसैले उहाँहरूले पट्टाको निम्ति आवेदन गर्दैछन्।’
उनले चियाबारीको निम्ति जमिनको पट्टा विषयमा बोल्दै भने, पाँच डेसिमलदेखि हटेर जसको जे जति जमीन छ त्यसको सर्भे गर्ने नोटिफिकेसन निस्केको छ। सरकारले कति जमीन दिन्छ आज स्पष्ट छैन। तर नापजोक भएपछि जमीन आफ्नो पोजिशनमा रेकर्ड हुनेछ। भूमि अनि भूमिसुधार विभागको रेकर्डमा बस्नेछ। त्यो पहिलो कदम हुनेछ। शरणार्थी पट्टा, रोहिंगिया आएर बस्छ भन्ने जस्ता नकारात्मक नेरिटिभको कारण हाम्रो मानिसको मनमा डर हाली दियो। सिलिम हिल कमानकाले सुरुमा पाँच डेसिमल पट्टा थापे। अब उनीहरूले चाँडै उनीहरूको सबै जमीनको पट्टा पनि पाउनेछन्। राजनैतिक नेरेटिभ स्थापित गर्नु खोज्दा जमीन जस्तो महत्वपूर्ण कुरा हराई पठाउनु हुँदैन।’

अनित थापाले अघि भने, ‘हाम्रो जमीन किनबेच नभएको नै राम्रो। अहिले हाम्रो गाउँ घरमा जमीन अर्काको नाममा छ। गोर्खा बाहुल्य सिलगढीमा अहिले हाम्रो अवस्था के छ? अरु समुदायको जमीन बढ्दैछ हामी जमीन बेचेको बेचेकै छौं।’