१८ सेप्टेम्बरः भारतीय टी२० अन्तर्राष्ट्रिय टीममा फर्किने प्रयासमा जुटेका पेस बलर मोहम्मद शमीलाई फेरि ठूल धक्का लागेको छ। अष्ट्रेलिया विरुद्ध टी२० सीरीजको ठीक अघि उनलाई कोरोना पोजिटिभ पाइएको छ। यसैकारण शमीले अष्ट्रेलिया विरुद्ध टी२० सीरीज खेल्न सक्नेछैनन्। यसबीच लामो समयदेखि टीमबाट बाहिर रहने अन्य एक पेस बलर उमेश यादवले अब भारतीय टीममा शमीको स्थान लिनेछन्। यसरी भाग्यले गर्दा उमेशले लगभग साढ़े तीन सालपछि भारतीय टीममा मौका पाएका छन्। भारत र अष्ट्रेलियाबीच तीनवटा म्याचको टी२० सीरीज २० सेप्टेम्बरदेखि मोहालीमा खेलिनेछ। चोटले गर्दा काउण्टी क्रिकेट छोड़ेर स्वदेश फर्किने ३४ वर्षीय उमेशले आफ्नो अन्तिम टी२० अन्तर्राष्ट्रिय म्याच २४ फरवरी २०१९-मा खेलेका थिए। अब अष्ट्रेलिया विरुद्ध पहिलो टी२० म्याचमा मौका पाए उमेशले ४३ महिनापछि भारतीय टीमको जर्सी लगाएर टी२० म्याच खेल्नेछन्। मिडिलसेक्सको तर्फबाट काउण्टी क्रिकेट खेल्दा चोट लागेपछि उमेश भारत फर्किएर बेंगलुरु स्थित नेशनल क्रिकेट एकाडमी (एनसीए)-मा उपचार गराइरहेका थिए।
भारतको तर्फबाट ५२ वटा टेस्टमा १५८ विकेट अनि ७५ वटा वनडे म्याचमा १०६ विकेट लिने उमेश खराब फर्मले गर्दा लामो समयदेखि भारतीय टीमबाट बाहिर रहेका थिए। केही दिन अघि दिएको एउटा इण्टरभ्यू-मा उनले २०२३ विश्व कप खेल्ने इच्छा व्यक्त गरेका थिए। उमेशले टी२० अन्तर्राष्ट्रियमा भारतको तर्फबाट केवल १७ वटा म्याच खेलेका छन्। यी १७ वटा म्याचमा उनले १८ विकेट लिएका छन्। यसबीच कोरोना पोजिटिभ भएर शमीको टी२० विश्व कप खेल्ने सम्भावनालाई चाहिँ ठूलो धक्का लागेको छ। हालै सम्पन्न एशिया कपको निम्ति टीममा स्थान नपाउने शमीसँग घरेलु सीरीजमा असल प्रदर्शन गर्ने मौका रहेको थियो।











