गान्तोक: आगामी १३ जुलाईको दिन सोरेङमा पालन गरिने २११औं भानुजयन्ती समारोहअन्तर्गत आज पहलो चरणमा खुल्ला कविता बाचन प्रतियोगिता मलबासेस्थित डनबस्को स्कूलको प्रेक्षागृहमा सम्पन्न भयो। सोरेङ जिल्लास्तरीय समारोह समितिको पहलमा आयोजित पहिलो दिनको कार्यक्रममा अतिरिक्त जिल्लापाल सन्तोषकुमार आले मुख्य अतिथिकारूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै आलेले रामायणको ऐतिहासिक यात्रा र दार्जीलिङ र सिक्किमको पहाडी क्षेत्रहरूमा यसको विकासबारेमा जानकारी गराए। उनले दार्जीलिङ र सिक्किममा भानुजयन्ती मनाउने प्रथा १९२४ देखि शुरू भएको बताए। उनले पूर्व मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारीको उल्लेखनीय योगदानको स्मरण गर्दै जसको नेतृत्वमा भानुजयन्ती मनाउने कार्य शुरू भएको जानकारी गराए। सोही क्रममा इन्स्टिच्युट फर ट्रान्सफर्मिङ सिक्किमका उपाध्यक्ष तथा आयोजक समितिका सदस्य सीपी शर्माले सभालाई सम्बोधन गर्दै खुल्ला कविता प्रतियोगिताको उद्देश्यबारेमा जानकारी गराए। उनले प्रतियोगिताको प्राथमिक उद्देश्य सोरेङ जिल्लाभरिका कविहरूमाझ साहित्यिक रचनात्मकताको विकास र प्रोत्साहनका लागि रहेको बताए। यस प्रकारको पहलले स्थापित वरिष्ठ कविहरू र उदीयमान युवा प्रतिभाहरूलाई आफ्नो काव्यात्मक दृष्टिकोण व्यक्त गर्न र क्षेत्रको साहित्यिक र सांस्कृतिक संरचनामा योगदान पुर्यानउन मञ्च प्रदान सकिने अवगत गराए। आजको पहिलो चरणको प्रतियोगितामा १९ जना कविले सहभागिता जनाएका थिए।