गान्तोक: पर्यटन एवं नागरिक उडडन, वाणिज्य तथा उद्दोयग विभागीय मन्त्री छिरिङ टी. भोटियाले आज गेजिङ जिल्लाअन्तर्गत योक्सम टाशीडिङ निर्वाचन क्षेत्रमा सञ्चालित सरकारी विद्यालय र आइसीडीएस केन्द्रको पूर्वाधार विकासको निरीक्षण गरे। निरीक्षणको क्रममा मन्त्री भोटियासँग सम्वन्धित ग्राम पञ्चायत यूनिटका सदस्यहरू लगायत स्थानीय युवाहरू पनि सामेल रहेका थिए। यस अवसरमा मन्त्री भोटियाले छोजो गाउँमा सञ्चालित सरकारी प्राथमिक पाठशालाको निरीक्षण गर्दै शिक्षकहरुसँग तत्काल चाहिने आवश्यक सुविधाबारेमा जानकारी लिए। निरीक्षणको क्रममा उक्त पाठशाला भवनको छानाको अवस्था दयनीय रहेको पाइएपछि यसको शीघ्र मरम्मति गर्ने आश्वासन दिए। सोही प्रकारले उनले आइसीडीएस केन्द्रको निरीक्षण गर्दै यसको कार्यप्रणाली, पूर्वाधार र सेवाको समीक्षा गरे। यसरी नै उनले पर्यटन तथा नागरिक उड्डयन विभागको मेगा होमस्टे परियोजनाअन्तर्गत निर्माणाधीन होमस्टेको पनि निरीक्षण गरे। उनले निर्माण कार्यको प्रगतिबारे पनि समीक्षा गरेका थिए। निर्माण कार्यमा जुटेका विभागीय अभियन्ता र ठेकेदारलाई होमस्टे निर्माणमा गुणस्तरीयता हुनुपर्ने निर्देश दिए। मन्त्रीले होमस्टे परियोजना मुख्यमन्त्री प्रेमसिंह तामाङको परिकल्पनाअनुसार शुरू गरेको र राज्यको ग्रामीण पर्यटनलाई मजबुत बनाउनको निम्ति सबैले सहयोग पुऱ्याउनु पर्ने आग्रह गरे।