सिङताम र पाकिममा ड्रग्ससहित तीनजना पक्राउ, नशामुक्त सिक्किम अभियानअन्तर्गत कारबाही तीव्र

photocollage_202578231117513

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशपछि पुलिस नशामुक्त सिक्किम बनाउने दिशामा सक्रियरूपमा लागिपरेको छ। प्रत्येक दिन राज्यका विभिन्न जिल्लाबाट नशालु पदार्थको धन्दा गर्नेहरूलाई पुलिसले पक्राउ गर्दै आइरहेको छ। यसक्रममा सिङताम पुलिसले एक व्यक्तिलाई १० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। सिङताम पुलिसलाई विश्वसनीय सूत्रले निखिल छेत्री नामक एक ड्रग्स बिक्रेताबारे गोप्य सूचना दिएको थियो। जसको आधारमा पुलिसले उक्त व्यक्तिमाथि धेरै दिनदेखि निगरानी राखिरहेको थियो। यसक्रममा उक्त व्यक्तिलाई ड्रग्स बिक्री गरिरहेको अवस्थामा पक्राउ गरेको छ। सिङताम थानाका पुलिस प्रभारी लक्ष्मण गजमेरको नेतृत्वमा गएको टोलीले भानुपार्कबाट पिपलेडाँडा निवासी निखिल छेत्रीलाई पक्राउ गरेको छ। आरोपीले १० ग्राम ब्राउन सुगर जिन्स पेन्टको गोजीमा लिएर बिक्री गर्न गइरहेका थिए। पुलिसले नशामुक्त सिङताम समितिका अध्यक्ष साङ्गे सी. भोटिया, दोर्जी भोटिया र खाम्दोङका खण्ड विकास अधिकारी दोर्जी शेर्पाको उपस्थितिमा ड्रग्स जफ्त गरेको हो भने आरोपीविरूद्ध एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ। सोही प्रकारले पाकिम जिल्लाको सेतीपुलबाट दुईजनालाई ड्रग्ससहित पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा सेतीपुल निवासी किङगा भोटिया र लोवर साम्दुङ निवासी शऱण दियालीकोरूपमा चिन्हित गरेको छ। आरोपीद्वय अल्टो कारमा आइरहेको समयमा सेतीपुल पेट्रोल पम्पबाट पक्राउ गरेको पुलिसले बताएको छ। दुवैबाट पुलिसले भारीमात्रामा स्पास्मो प्रोक्सिवन क्याप्सुल फेला पारेको छ। आरोपीद्वय यसभन्दा अघि पनि रम्फू र रानीपुल पुलिसद्वारा पक्राउ परिसकेका छन्। केही दिनदेखि पुलिसले दुइजनामाथि निगरानी राख्दै आइरहेको थियो। पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ। उल्लेखनीय छ, गत २६ जूनको दिन राजधानीस्थित मनन केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङले नशालु पदार्थको धन्दाविरूद्ध प्रभावी पहल गर्ने साथै यस अभियानका लागि पुलिसलाई रणनीति अप्नाउनु पर्ने निर्देश दिएका थिए। नशालु पदार्थ समाज, राज्य र देशको निम्ति नै एक चुनौतीको विषय बन्दै गइरहेको र यसलाई नियन्त्रण गर्न पुलिस विभागलाई सरकारको तर्फबाट चाहिने सबै प्रकारका सहयोग उपलब्ध गराउने वचन दिएका थिए। मुख्यमन्त्री तामाङले दिएको आश्वासनअनुसार हाल पुलिसले विभिन्न क्षेत्रबाट नशाखोर र बिक्रेताहरुलाई फटाफट पक्राउ गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement