ईंग्लिश प्रीमियर लीगः सिटी र टोटनह्याम विजयी

IMG-20220918-WA0109.jpg

१८ सेप्टेम्बरः ईंग्लिश प्रीमियर लीग फूटबलमा शनिवार राति म्यानचेष्टर सिटी र टोटनह्याम हट्स्परले आ-आफ्नो म्याच सजिलै जित्यो। म्यानचेष्टर सिटीले दशजना खेलाड़ीमा सीमित वूल्भ्स (वूल्भरह्याम्प्टन) विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा म्याचको ३३औं मिनटमा न्याथन कोलिन्सले रातो कार्ड देख्दा दशजना खेलाड़ीमा सीमित हुने वूल्भ्सले सिटी समक्ष कुनै चुनौती पेश गर्न सकेन। म्याचमा मध्यान्तरसम्म सिटी २-०-ले अघि रहेको थियो। सिटीबाट ज्याक ग्रेलिसले पहिलो मिनटमै गोल गरे। त्यसपछि एर्लिंग हालाण्डले १६औं मिनटमा अझ एक गोल थपे। अन्तमा फिल फोडेनले ६९औं मिनटमा गोल गरी सिटीलाई ३-०-ले जीत दिलाए। यस जीतको साथै सिटी ७ वटा म्याचमा १७ पोइण्टको साथ गोल अन्तरको आधारमा प्रीमियर लीग टेबलको शीर्ष स्थानमा पुग्यो। वूल्भ्स ६ पोइण्टको साथ १६औं स्थानमा रहेको छ।

यसरी नै टोटनह्यामले सोन ह्युंग-मिनको असाधारण ह्याट्रिकको दममा लिस्टर सिटीलाई ६-२-ले पिट्यो। आफ्नो होम ग्राउण्डमा केवल ४३ प्रतिशत पोजेशनको साथ खेल्दै टोटनह्याम एक समय त १ गोलले पछि रहेको थियो। त्यसपछि टीमले असाधारण पुनरागमन गर्दै ठूलो अन्तरले जीत हासिल गऱ्यो। टीमको निम्ति सबैभन्दा ठूलो प्राप्ति दक्षिण कोरियाई स्ट्राईकर ह्युंग-मिन फर्ममा फर्किनु रह्यो। प्रीमियर लीगको गत सीजनमा २३ गोलको साथ संयुक्त रूपले सर्वाधिक गोलदाताको पुरस्कार जित्ने ह्युंग-मिनले टोटनह्यामबाट गत सातवटा म्याचमा गोल गर्न सकेका थिएनन्। यसैकारण उनले लिस्टर विरुद्ध शुरुवाती एकादशमा स्थान पाएनन् तर स्थानापन्न खेलाड़ीको रूपमा बेञ्चबाट उठेर मैदानमा प्रवेश गरेपछि उनले ह्याट्रिकको साथ आलोचकहरूलाई जवाफ दिए। उनको तीनैवटा गोल दर्शनीय थियो। ह्यूंग-मिनले म्याचको ७३औं, ८४औं र ८६औं मिनटमा गोल गरे। यसबाहेक ह्यारी केनले आठौं, एरिक डिएरले २१औं र रोड्रिगो बेण्टासुरले ४७औं मिनटमा गोल गरे। यसरीनै लिस्टर सिटीबाट यूरी टेलेमान्सले छैटौं (पेनल्टी) र जेम्स मेडिसनले ४१औं मिनटमा गोल गरे।

यस जीतपछि टोटनह्यामको ७ वटा म्याचपछि शीर्ष स्थानमा रहने सिटीको बराबर १७ पोइण्ट पुग्यो तर गोल अन्तरको आधारमा टीम दोस्रो स्थानमा रह्यो। यसबीच लिस्टर चाहिँ २० वटा टीमको सूचीमा १ पोइण्टको साथ फेदमा रहेको छ। शनिवार राति न्यूक्यासल र बोर्नमाउथबीच खेलिएको म्याच चाहिँ १-१-ले ड्र रह्यो। न्यूक्यासल ८ पोइण्टको साथ १०औं अनि बोर्नमाउथ ८ पोइण्टको साथ १२औं स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement