गान्तोक: नाम्ची पुलिसले भारी मात्रामा ड्रग्ससहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी सिङगीथाङ निवासी विशाल गुरूङकोरूपमा चिन्हित गरेको छ। आरोपीलाई नाम्ची जिल्लाअन्तर्गत मल्ली चेकपोस्टबाट पक्राउ गरिएको पुलिसले बताएको छ। पुलिसले थप जानकारी गराए अनुसार विश्वासनीय सुत्रले पुलिसलाई आरोपी गुरूङले सिलगढीबाट ड्रग्स लिएर आउँदै गरेको सूचना दिएको थियो। सोही सूचनाको आधारमा पुलिसले मल्ली चेकपोस्टमा जाँच गर्ने क्रममा आरोपीलाई पक्राउ गरेको हो। सिलगढीदेखि नाम्ची आउँदै गरेको पश्चिम बंगाल नम्बरधारी वाहनमा आइरहेका आरोपीबाट ड्रग्स फेलापारेपछि पक्राउ गरिएको हो। पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत जोरथाङ महकुमा अधिकारीको उपस्थितिमा मल्ली थानामा मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ। उल्लेखनीय छ, गत २६ जूनको दिन राजधानीस्थित मनन केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङले नशालु पदार्थको धन्दाविरूद्ध पुलिसले कडारूपमा निगरानी गर्नुपर्ने साथै यसलाई नियन्त्रण गर्नको निम्ति सबै प्रकारको नीति अप्नाउनु पर्ने निर्देश दिएका थिए। नशालु पदार्थ समाज, राज्य र देशको निम्ति एक चुनौतिको विषय बन्दै गइरहेको र यसलाई नियन्त्रण गर्न पुलिस विभागलाई सरकारको तर्फबाट चाहिने सबै प्रकारको सहयोग उपलब्ध गराउने बचन दिएका थिए। यसअन्तर्गत हाल पुलिसले विभिन्न क्षेत्रबाट नशालु पदार्थको धन्दा गर्नेहरूविरूद्ध निगरानी राख्दै पक्राउ गरिरहेको छ।