खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) द्वारा बेरोजगार युवाहरुलाई स्वरोजगारको माध्यम दिलाउन व्यवसायिक सुंगुर पालनबारे निःशुल्क प्रशिक्षण दिइने भएको छ। हाल पहाडमा युवाहरुको एउटै गुनासो उठिरहेको छ। त्यो हो पहाडमा कुनै कुराको व्यवस्थापन छैन। बेरोजगारपनको बहानामा हजारौं युवाहरु पहाडबाट पलायन भई कोही खाडी मुलुकतिर त कोही भारतकै अन्य राज्यहरूमा गएर अस्थायी नोकरी गरिरहेको अवस्था छ। अर्कोतिर हेर्नु हो भने यसको ठीक विपरीत दार्जीलिङ पहाडमा अन्य राज्यहरूको हजारौं व्यक्तिहरु आएर हाम्रै ठाउँमा सानातिना व्यापार वाणिज्य चलाएर सालनी लाखौं रुपियाँ कमाइरहेको जीटीए प्रमुख जनसम्पर्क अधिकारी शर्माले बताएका छन्। शर्माले यी सबै विषयलाई धेरै नजिकबाट समीक्षा गरिरहेको पनि बताएका छन्। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रमुख जनसम्पर्क अधिकारी एसपी शर्माले भने, युवाहरुले केवल सरकारी नोकरीको मात्र अपेक्षा नराखी विभिन्न स्वरोजगारको माध्यमहरु अप्नाए हाम्रै ठाउँमा ती प्रशस्त सम्भावनाको मार्गहरु जसको अनुसार यहाँका युवाहरुले बेरोजगारीको बहानामा पलायन हुन पर्दैन। उनले भने, पहाडमा युवाहरुलाई स्वावलम्बी बनाउन सुंगुर पालन एउटा उचित विकल्प बन्न सक्छ। किनभने मार्केट- मा जहिले पनि संगुरको मासुको डिमाण्ड धेरै छ। दार्जीलिङ पहाडमा अहिले सुंगुरको निर्यात बाहिरबाट भईरहेको छ। बजारमा जुन सुंगुरको मासुको डिमाण्ड छ, त्यसको पूरा पहाडको स्थानीय सुंगुर पालकहरुबाट हुन सकिरहेको छैन। तसर्थ हामीले यी विषयहरुमाथि गम्भीर रुपमा अध्ययन अनि समिक्षा गरेपछि यो निष्कर्षमा पुग्यौं, पहाडमा सुंगुर पालनको व्यवसाय अति उत्तम रुपमा फस्टिने ब्यापक सम्भावना रहेको छ। शर्माले अघि भने, जसले पहाडको युवाहरुको बेरोजगारी पनको समस्यालाई पनि धेरै हदसम्म साम्य बनाउन सक्नेछन्। जीटिएले पहाडमा अब सुंगुर पालनको नयाँ व्यवसायिक योजना गरेर युवाहरु स्वालम्वी बनून भन्ने हेतू व्यवसायिक सुंगुर पालन माथि दुई दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने जानकारी शर्माले दिए। विशेष रुपमा यसको प्रमुख केन्द्र सिपाहीधुरामा अवस्थित (एग्रो लाईफ फार्मिङ) पुरानो सुंगुर पालन फार्म रहनेछ।
यसै सन्दर्भलाई लिएर प्रमुख जन सम्पर्क अधिकारी शर्माको पहलमा एक बैठक पनि सम्पन्न भएको थियो जुन बैठकमा टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पा, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, एग्रो लाईफ फार्मिङ केन्द्रको सञ्चालक साथै सुंगुर विशेषज्ञहरु लगायत अन्य व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो। सभामा सुँगुर विशेषज्ञ लगायत स्थानीय सभासदहरुले पनि पहाडको निम्ति व्यवसायिक सुंगुर पालन एक असल कदम रहने अनि भविष्यमा यस योजनाले पहाडको बासिन्दाहरुलाई एउटा राम्रो प्रतिफल दिने धारणा प्रकट गरे। क्षेत्रीय सभासद नुरी शेर्पाले यस कदमलाई आफुहरुले सकारात्मकताको साथ लिएको अनि आफ्नो समष्टिभित्रको व्यवसायिक सुंगुर पालन गर्ने व्यक्तिहरुको सर्भे पनि गरिरहेको जनाएका छन्। यसै क्रममा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले पनि जीटीएको तर्फबाट हुन गईरहेको यो पहलले साथै दुई दिवसीय प्रशिक्षण कार्यक्रमले स्थानीय सुंगुर पालन गर्ने व्यक्तिहरुलाई ठूलो सहयोग पुग्ने साथै उनीहरुले व्यावसायिक सुंगुर पालनको प्रशिक्षण लिएपछि वास्तविक सुंगुर पालन गर्दा कस्ता पद्धतिहरु अपनाउनु पर्ने हुन्छ। यी सबै विषयहरुमाथि जानकारी हाँसिल गरेपछि उत्तम प्रकारले सुंगुर पालन गर्न सकिने बताए। शर्माले बताए, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको पहलमा यो योजना पहाडमा लागु गरिनेछ। दुई दिनको निःशुल्क प्रशिक्षण दिइने छ जसले निकट भविष्यमा जीटीए क्षेत्रको स्थानीय सुंगुर पालन गर्ने पहाडको युवाहरुको आर्थिक अवस्था दह्रो बनेर जाने साथै बेरोजगारपनको समस्यालाई पनि समाधान हुने, शर्माले थप बताए।