न्यूयोर्क: फिफा क्लब वर्ल्ड कपमा स्पेनिश क्लब रियल म्याड्रिडको साथमा फ्रान्सीसी क्लब पेरिस सेण्ट जर्मेन (पीएसजी)-ले सेमिफाइनलमा प्रवेश गऱ्यो। रियल म्याड्रिडले आइतवार खेलिएको अन्तिम क्वार्टर फाइनल म्याचमा जर्मनीको क्लब बोरुसिया डर्टमण्डलाई ३–२-ले पराजित गऱ्यो। मेटलाइफ स्टेडियममा ४८ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडले शुरुमै विपक्षी टीममाथि दबाउ सृष्टि गऱ्यो। स्पेनिश क्लबले २० मिनटमै २–०-को बढ़त हासिल गऱ्यो। गोञ्जालो गार्सियाले १०औं र फ्रान गार्सियाले २०औं मिनटमा गोल गरे। मध्यान्तरअघि रियल म्याड्रिडको निम्ति जूड बेलिंघम र विनिसियस जूनियरले गोल गर्ने मौका गुमाए। तेज गर्मीबीच दोस्रो हाफको खेल पनि चरम रोमाञ्चक रह्यो तर ९० मिनटसम्म स्कोरमा कुनै फेरबद भएन। त्यसपछि इञ्ज्युरी टाइमको खेलमा चाहिँ म्याचको रोमाञ्च अलग स्तरमा पुग्यो। म्याक्सीमिलिएन बिएरले इञ्ज्युरी टाइमको दोस्रो मिनटमा डर्टमण्डलाई म्याचको पहिलो गोल दिलाए तर चौथो मिनटमा कीलियन एम्बाप्पेले गोल गर्दा रियल म्याड्रिड फेरि २ गोलले अघि रहन पुग्यो। यसरी इञ्ज्युरी छैटौं मिनटमा रियल म्याड्रिडका डीन हुईसेनले विपक्षी खेलाड़ी शेहोउ गुइरास्सीलाई डी बक्सभित्र फाउल गर्दा रेफरीले डर्टमण्डलाई पेनल्टी प्रदान गरे। यसको साथमा हुईसेनले रेड कार्ड देख्नु पऱ्यो। त्यही मौकामा गुईरास्सीले गोल गरे पनि डर्टमण्डलाई हारबाट बचाउन सकेनन्।
यसअघि खेलिएको अन्य एउटा क्वार्टर फाइनलमा पीएसजी-ले जर्मनीको क्लब बायर्न म्यूनिखलाई २–०-ले पराजित गऱ्यो। यूरोपियन च्याम्पियन पीएसजी-ले यसको साथमा अझ एउटा ट्रफी जित्ने दिशामा कदम बढ़ायो। म्याच चरम रोमाञ्चक रह्यो अनि पीएसजी-ले ९ जना खेलाड़ीको साथ खेल्दै पनि जीत हासिल गऱ्यो। मर्सिडीज-बेञ्ज स्टेडियममा ४५ प्रतिशत पोजेशनको साथ खेल्ने फ्रान्सीसी क्लबले शुरुदेखि नै जर्मन क्लबबाट चुनौतीको सामना गर्नु पऱ्यो। मध्यान्तरसम्म दुवै टीमले गोल गर्न सकेन। यस अवधि पीएसजी-का गोलकीपर जियानलुईगी डोनारुम्माले २ वटा असाधारण शेभ गरे। पीएसजी-ले अन्तमा गएर ७८औं मिनटमा गोल दर्ता गऱ्यो। डिजिरे डुए ले पहिलो गोल दिलाएपछि पीएसजी-लाई २ वटा धक्का लाग्यो। विलियन पाचोले ८२औं मिनट र लुकास हर्नाण्डेजले इञ्ज्युरी टाइमको दोस्रो मिनटमा रेड कार्ड देख्दा पीएसजी ९ जना खेलाड़ीमा सीमित भयो। अन्तमा औस्माने डेम्बेलेले इञ्ज्युरी टाइमको छैटौं मिनटमा अझ १ गोल गरेर पीएसजीलाई जीत दिलाए। अब १० जुलाईमा खेलिने दोस्रो सेमिफाइनलमा पीएसजी-को भिड़न्त रियल म्याड्रिडसँग हुनेछ।