बर्मिंघम: भारतीय टेस्ट टीमका कप्तान शुभमन गिलले ईंग्ल्याण्डविरुद्ध बर्मिंघममा जारी दोस्रो टेस्ट म्याचमा असाधारण प्रदर्शन गर्दै एकाधिक रेकर्ड बनाए। लीड्समा खेलिएको पहिलो टेस्ट म्याचको पहिलो ईनिंग्समा शतक बनाउने गिलले दोस्रो टेस्टमा पनि फर्मलाई कायम राखे। उनले दोस्रो टेस्टको पहिलो ईनिंग्सपछि दोस्रो ईनिंग्समा पनि शतक बनाए। गिलले भारतको दोस्रो ईनिंग्समा १६२ बल खेलेर १३ वटा चौका र ८ वटा छक्काको साथ १६१ रन बनाए। उनले पहिलो ईनिंग्समा पनि २६९ रन बनाएका थिए। यसरी गिलले दोस्रो टेस्ट म्याचमा जम्मा ४३० रन बनाए। यो कुनै एउटा टेस्ट म्याचमा कुनै पनि भारतीय ब्याटरले बनाएको सर्वाधिक रन हो। यस मामिलामा गिलले महान सुनिल गावस्करलाई पछि छोड़े, जसले १९७१-मा वेष्ट इण्डिजविरुद्ध पोर्ट अव् स्पेनमा जम्मा ३४४ रन बनाएका थिए। यसरी गिलले ५४ साल पुरानो भारतीय रेकर्ड तोड़े। गिल कुनै एउटा टेस्ट म्याचमा ४०० भन्दा अधिक रन बनाउने पहिलो भारतीय हुन्। यसको साथमा गिल टेस्ट म्याचको दुवै ईनिंग्समा शतक बनाउने आठौं भारतीय हुन्। यसरी एउटै टेस्ट म्याचमा दोहोरो शतक र शतक बनाउने उनी नवौं खेलाड़ी हुन्।
समग्रमा गिल टेस्ट क्रिकेटको इतिहासमा एउटा म्याचमा दोस्रो सर्वाधिक रन बनाउने खेलाड़ी हुन्। यस सूचीमा ईंग्ल्याण्डका दिग्गज ग्राहम गूच शीर्ष स्थानमा छन्। गूचले १९९०-मा भारतविरुद्ध नै ४५६ रन बनाएका थिए। त्यस समय गूचले पहिलो ईनिंग्समा ३३३ र दोस्रो ईनिंग्समा १२३ रन बनाएका थिए। यस सूचीमा अष्ट्रेलियाका मार्क टेलर तेस्रो स्थानमा छन्। उनले १९९८-मा पाकिस्तानविरुद्ध पेशावरमा खेलिएको टेस्ट म्याचमा ४२६ रन (अविजित ३३४ र ९२) बनाएका थिए। यसको साथमा गिल कप्तानको रूपमा आफ्नो पहिलो २ वटा टेस्ट म्याचमा सर्वाधिक रन बनाउने ब्याटर बने। उनले यस मामिलामा विराट कोहलीलाई पछि छोड़े। कोहलीले कप्तानको रूपमा आफ्नो पहिलो २ वटा टेस्ट म्याचमा ४४९ रन बनाएका थिए। गिलले कप्तानको रूपमा आफ्नो पहिलो दुईवटा टेस्टमा ५८५ रन बनाएका छन्। यस सूचीमा दोस्रो स्थानमा सुनिल गावस्कर (४२९ रन) रहेका छन्।