गान्तोक: राज्यको सहकारी विभागले अन्तर्राष्ट्रीय सहकारी दिवसको अवसरमा आज सेलेप ट्याङकी परिसरमा विभिन्न प्रजातिका बिरूवारोपन गऱ्यो। मेरो रूख मेरो सन्तति साथै ‘एक पेंड माँ के नाम’ अभियानअन्तर्गत बिरुवारोपन कार्यक्रम आयोजचन गरेको हो। यस अवसरमा ग्रामीण प्रबन्धन विकास एवं सहकारी विभागीय मन्त्री अरूणकुमार उप्रेती मुख्य अतिथिकारूपमा उपस्थित थिए। बिरुवारोपन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा मन्त्री उप्रेतीले प्रत्येक वर्षको ५ जुलाईको दिन अन्तर्राष्ट्रीय सहकारी दिवस पालन गरिने र यस अवसरमा सिक्किमसंगै देशभरि नै बिरूवारोपन कार्यक्रम आयोजन गरिएको बताए। आज ५ हजार बिरूवारोपनको लक्ष्य राखेर काम गरेको अवगत गराउँदै मन्त्री उप्रेतीले यसरी नै आफ्नो सन्तानको नाममा पनि बिरूवारोपन कार्यक्रम सम्पन्न गरिएको जानकारी गराए। यसरी आफ्नो नानीको नाममा बिरुवा रोप्नाले नानी र प्रकृतिबीच एक प्रकारको माया रहने उल्लेख गरे। यस अवसरमा सहकारी विभागकी सचिव ग्लोरिया नाम्च्यु लगायत अन्य अधिकारीहरू साथै कर्मचारीहरू पनि सामेल रहेका थिए।