गान्तोक: गेजिङ जिल्लाको बर्मेक बर्थाङ ग्राम पञ्चायत यूनिटमा प्रधानमन्त्री कृषि सिँचाइ योजनाअन्तर्गत सूक्ष्म सिँचाइ प्रणालीमाथि प्रशिक्षण सम्पन्न भयो। यसका साथै कृषि उपकरण वितरण कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न भयो। सरकारको कृषि विभागद्वारा आयोजित कार्यक्रममा सिक्किम मिल्क यूनियनका अध्यक्ष यमकुमार शर्मा मुख्य अतिथि रहेका थिए। साथमा बर्मेक बर्थाङ यूनिटका पञ्चायत अध्यक्ष गणेश शर्मा लगायत अन्य विभागीय अधिकारी र कर्मचारीहरुको सहभागिता थियो। यसबीच एकसय दसजना कृषकहरूलाई सुक्ष्म सिँचाइ सेट प्रदान गरियो। अन्य आठजना कृषकलाई योजनाको निम्ति छनौट गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि शर्माले वागवानी र पशुपालनमार्फत दिगो जीविकोपार्जन प्रवर्द्धन गर्ने सरकारले निरन्तर काम गर्दै आएको उल्लेख गरे। उनले प्रधानमन्त्री किसान सिँचाइ योजनाको मुख्य लक्ष्य पानीको उपयोग, क्षमता विकास र उत्पादकता विकास रहेको बताए। उनले किसानहरूलाई “कनेक्ट टु अर्थ” कार्यक्रममा आफूलाई संलग्न गराउनु पर्ने आग्रह गरे।