सोरेङ: रेङ जिल्लाअन्तर्गत कलुकस्थित खण्ड प्रशासनिक केन्द्रको प्रेक्षागृहमा औद्योगिकीकरण योजनाहरु र उत्तरपूर्वी क्षेत्र योजनामाथि कार्यशाला सम्पन्न भयो। कार्यक्रमको मुख्य उद्देश्य स्थानीय उद्यामीहरू, स्वयं सहायता समूह, युवाहरू र अन्य सरोकारवालाहरूलाई राज्य र केन्द्र सरकारका मुख्य योजनाहरू र यसको लाभबारेमा जागरूकता गराउँदै सशक्त बनाउनु थियो। यस अवसरमा क्षेत्र विधायक एरुङ तेन्जिङ लेप्चा प्रमुख अतिथिकारूपमा उपस्थित थिए। साथमा जिल्लापाल धीरज सुवेदी अनि अतिरिक्त जिल्लापाल (विकास) गायस पेगा पनि उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि विधायक लेप्चाले कार्यक्रमले लाभार्थीहरुलाई जागरुकता गराउने काम गरेको बताए। वाणिज्य एवं उद्योग विभागले रिञ्चेनपोङ निर्वाचन क्षेत्रमा विभिन्न योजनाहरबारे सचेत गराउने उद्देश्यले यस प्रकारको कार्यक्रम आयोजन गरेकोमा बताए। उनले विभागका अधिकारीहरू बाहेक चार्टर्ड एकाउन्टदेखि वित्तीय एजेन्सीहरू, उन्नति फाउन्डेसनजस्ता गैरसरकारी संस्थाहरू विषय विशेषज्ञहरूलाई एकीकृत गर्ने विभागको समग्र दृष्टिकोणको प्रशंसा गरे। उनले थप जानकारी गराएअनुसार यस पहलले ग्रामीण क्षेत्रका मानिसहरूमा जागरूकता आउने दाबी गरे। मुख्यमन्त्रीको “एक परिवार, एक उद्यमी” को दृष्टिकोणअन्तर्गत युवा, स्वयं सेहायता समूह र स्थानीय उद्यमीहरूलाई सशक्त बनाउन यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने सम्भावना व्यक्त गरे। उनले सहभागीहरूलाई योजनाबाट लाभ लिने प्रोत्साहित गर्दै यसलाई विकासको लागि आवश्यक रहेको उल्लेख गरे। उनले सरकारी नोकरीको निर्भरताबाट आत्मनिर्भरता र रोजगारी सिर्जनाको विकल्पको रूपमा उद्यमशीलतालाई अँगाल्नु पर्ने आवश्यकतामाथि जोड दिए। यस क्रममा जिल्लापाल सुवेदीले सहभागीहरूलाई सरकारद्वारा शुरू गरिएका विभिन्न योजनाबाट लाभ उठाउने आग्रह गर्दै योजनाको मुख्य उद्देश्य उद्यामीहरूलाई बढावा दिनु रहेको बताए। शिक्षित युवाहरूले केवल सरकारी नोकरी मात्र खोज्ने गरेको तर नोकरी खोज्ने होइन नोकरी दिने उत्पादक बन्नुपर्ने आग्रह गरे। जिल्लापालले उन्नति-२०२४ जस्ता योजनाहरूले आत्मनिर्भरता र स्थानीय आर्थिक वृद्धिको लागि अवसरहरू प्रदान गर्ने कुरामाथि प्रकाश पारे। सोही क्रममा वाणिज्य एवं उद्योग विभागका सचिव गोपाल के. छेत्रीले उन्नति-२०२४ योजनाका मुख्य विशेषताहरूमाथि प्रकाश पारे। योजनाले सिक्किममा नयाँ व्यवसाय स्थापना गर्न सहयोग पुऱ्याउने बताए।










