साहित्यकार एवं पत्रकार प्रविण खालिङ २८ औं डा. शोभाकान्ति थेगिम लेप्चा स्मृति पुरस्कारद्वारा अलङ्कृत

IMG-20250704-WA0092

गान्तोक: साहित्यकार प्रविण खालिङ डा. शोभकान्ति थेगिम लेप्चा स्मृति पुरस्कारद्वारा सम्मानित भएका छन्। डा. शोभाकान्ति थेगिम लेप्चा मेमोरियल ट्रष्टद्वारा आज स्थानीय चिन्तन भवनमा आयोजित एक भव्य समारोहबीच साहित्यकार खालिङलाई पुरस्कार अर्पण गरियो। ट्रष्टले हरेक वर्ष नेपाली साहित्यको विकासमाथि काम गर्दै आएका स्रष्टालाई उक्त पुरस्कारद्वारा सम्मानित गरिन्छ। ट्रष्टले वर्ष २०२५ को निम्ति प्रविण खालिङको निबन्ध सङ्ग्रह ‘चिया गफ’ लाई चयनित गरेको थियो। सिक्किम सरकारका शिक्षा मन्त्री राजु बस्नेतको मुख्य आतिथ्यमा पुरस्कार अर्पण गरिएको हो। खालिङलाई नगद ५० हजार, ताम्रपत्र र स्मृति चिन्हद्वारा सम्मानित गरिएको थियो। डा. शोभकान्ति थेगिम लेप्चा मेमोरियल ट्रष्टले विगत २८ वर्षदेखि उक्त पुरस्कार प्रदान गर्दै आएको छ। यसअन्तर्गत सिक्किम र सिक्किमबाहिर नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्या्उने स्रष्टाहरुलाई यस प्रतिष्ठित पुरस्कारद्वारा सम्मानित गरिँदै एको छ। ज्ञात रहोस्, डा. शोभकान्ति थेगिम लेप्चा सिक्किम बाहिर विद्यावारिधिको डिग्री प्राप्त गर्ने सिक्किमकी महिला हुन्। उनले दार्जीलिङ सरकारी कलेजबाट स्नातक, त्रिभुवन विश्वविद्यालय काठमाडौँबाट स्नातकोत्तर र बनारस हिन्दु विश्वविद्यालयबाट विद्यावारिधिको डिग्री प्राप्त गरेकी थिइन्। उनको स्मृतिमा हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिन्छ। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले ट्रष्टद्वारा गरिएको कार्यको खुलेर सराहना गरे। आफ्नो अध्यक्षीय सम्बोधनमा ट्ष्टका अध्यक्ष डुपछिरिङ लेप्चाले डा. शोभाकान्ति थेगिम भाषा, साहित्य र सिक्किमका लागि जहिल्यै गम्भीर रहेको जानकारी गराए। पुरस्कार ग्रहण गरेपछि आफ्नो सम्बोधनमा साहित्यकार खालिङले साहित्यमा गुणस्तर महत्वपूर्ण हुने बताए। गुणस्तरीय सिर्जना भए पाठकको संख्यामा कुनै कमि नहुने उल्लेख गरे। यसबीच कार्यक्रममा सिक्किमको पत्रकारिता क्षेत्रमा धेरै वर्षदेखि सेवा गर्दै आएका वरिष्ठ पत्रकार सुबास दीपक, नाट्य क्षेत्रमा विक्रम गौतम र रूपा तामाङ साथै चित्रकारिता क्षेत्रमा दीपा राईलाई सम्मान गरिएको थियो। कार्यक्रममा पत्रकार तथा साहित्यका सुबास दीपक र प्रद्युम्न श्रेष्ठको कृति पनि विमोचन गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement