साहित्यकार शंकरदेव ढकाललाई भानु पुरस्कार अर्पण गर्ने नेसापको घोषणा

IMG-20250703-WA0127

गान्तोक: नेपाली साहित्य परिषद, सिक्किमले साहित्यकार शंकरदेव ढकाललाई प्रतिष्ठित भानु पुरस्कार २०२५ द्वारा अलङ्कृत गर्ने घोषणा गरेको छ। आगामी १३ जुलाईको दिन राजधानीमा पालन गरिने भानु जयन्तीको अवसरमा पुरस्कार हस्तान्तरण गरिनेछ। आज विकासक्षेत्रस्थित नेपाली साहित्य परिषदको प्रेक्षागृहमा आयोजित पत्रकारलाई सम्मेलनलाई सम्बोधन गर्दै परिषदका अध्यक्ष हरि ढुङ्गलेले उक्त घोषणा गरेका हुन्। उनले थप जानकारी गराएअनुसार कार्यक्रममा भानु पुरस्कारसंगै विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याउने विशिष्ट व्यक्तिहरूलाई पनि सम्मान गरिने छ। यसअन्तर्गत भाषा सेवाश्री सम्मान यस वर्ष साहित्यकार अभिनारायण मिश्र र श्रीमति चन्द्र राईलाई प्रदान गरिनेछ। यसरी नै साहित्य सेवाश्री सम्मान वाङदी छिरिङ लामा, नाट्य सेवाश्री सम्मान पुष्पराज अधिकारी, संगीत सेवाश्री सम्मान सीबी गुरूङ, पत्रकारिता सेवाश्री सम्मान दिल्लीराम दुलाल, चित्रकारिता सेवाश्री सम्मान पारस राई र नृत्य सेवाश्री सम्मान किरण लामालाई प्रदान गरिने जानकारी गराए। सोही प्रकारले भाषा गौरव सम्मान लेप्चा भाषा साहित्यका ज्ञाता श्रीमति पुष्प छोडेन थोमस र भोटिया भाषा साहित्यका ज्ञाता हिस्से रिञ्जिङ भोटियालाई प्रदान गरिने अध्यक्ष ढुङ्गेलले पत्रकारहरूलाई जनाए। उनले जानकारी गराएअनुसार भानु जयन्ती प्रथम चरणको कार्यक्रम जिरोपोइन्ट स्थित भानु उद्यानबाट शुरू हुने छ। यसबीच मुख्य अतिथिकारूपमा राज्यपाल ओमप्रकाश माथुर रहने जानकारी गराउँदै भानु उद्यानदेखि शोभा यात्रा निकालिने जानकारी पनि अध्यक्षले दिए। उक्त शोभायात्रा भानु उद्यानबाट शुरू भएर तिब्बत पथ, एमजी मार्ग हुँदै मनन केन्द्रमा पुगेर समाप्त हुनेछ। उनले थप जानकारी गराएअनुसार आगामी ७-९ जुलाईसम्म अन्तरविद्यालय र खुल्लास्तरमा रामायाण पाठ, कविता वाचन, लोक नृत्य प्रतियोगिता आयोजन गरिने छ। जसमा अन्तिम प्रथम र दोस्रो प्रतिभागीले १३ जुलाईको दिन मनन केन्द्रमा आयोजित दोस्रो चरणको कार्यक्रममा आफ्नो प्रस्तुति दिनपर्नेछ। मनन केन्द्रमा आयोजना हुने दोस्रो चरणको कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकारूपमा उपस्थित रहने अध्यक्ष ढुङगेलले बताए। पत्रकार सम्मेलनमा नेसाप महासचिव नीलम न्यौपाने, उपाध्याक्ष नविन लामिछाने, सचिव रत्न लक्सम र कोषाध्याक्ष जीएस नेम्बाङको पनि उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement